सरकारबाट उखु किसानलाई राहत : ७५ करोड ४९ लाख बढी अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा

काठमाडौँ । सरकारले उखु किसानलाई प्रोत्साहन र अनुदान स्वरूपको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसका लागि रु. ७५ करोड ४९ लाख ३८ हजार २४० उपलब्ध गराएको हो।
निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार यस पटक उखु किसानलाई प्रतिक्विन्टल रु. ३५ अनुदान दिने भए पनि अर्थ मन्त्रालयले प्राविधिक कारण देखाउँदै निकासा गर्न ढिलाइ गरेको थियो।
रकम समयमै नपाएपछि किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका थिए। यसअघि किसानहरूले प्रतिक्विन्टल रु. ७० प्रोत्साहन पाउँदै आएका थिए। कृषि मन्त्रालयले यति नै रकम प्रस्तावमा लगेको भए पनि मुलुकको आर्थिक अवस्था र आवश्यकतालाई ध्यानमा राखी प्रतिक्विन्टल रु. ३५ दिने निर्णय भएको थियो।
यसैबीच काठमाडौंमा उखु किसान र कृषि मन्त्रालयबीच सिंहदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा मन्त्रालयतर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भए। किसानतर्फ श्यामबाबु रायलगायत उपस्थित थिए। मंगलबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए।













