वाणिज्य बैंकले कर्मचारीका लागि छुट्याए साढे १० अर्ब बोनस: अग्र स्थानमा नबिल र इन्भेष्टमेन्ट, कुनले कति ?

११ भाद्र २०८२, बुधबार १२:२०

काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा वाणिज्य बैंकहरुले आफ्नो कर्मचारीको लागि साढे १० अर्ब रुपैयाँ छुट्याएका छन् । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा आफ्नो कर्मचारीको लागि बोनस वितरण गर्न १० अर्ब ६१ करोड १३ लाख रुपैयाँ छुट्याएका हुन् ।

बैंकहरुले छुट्याएको बोनस अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा ९.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकहरुले ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई वितरण गरेका थिए ।

गत आर्थिक वर्ष सबैभन्दा धेरै कर्मचारीलाई बोनस रकम छुट्याउने पहिलो स्थानमा नबिल बैंक रहेको छ । बैंकले कर्मचारीका लागि १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुटयाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६२ प्रतिशतले बढी हो ।

सर्वाधिक कर्मचारीका लागि रकम छुट्याउने दोस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.८९ प्रतिशतले बढी हो ।

कर्मचारीक बोनसका लागि ग्लोबल आइएमई बैंकले ९७ करोड ६० लाख रुपैयाँ, एभरेष्ट बैंकले ८२ करोड ७१ लाख, प्रभु बैंकले ७० करोड ५ लाख, प्राइम बैंकले ६५ करोड ९८ लाख, कुमारी बैंकले ६४ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकले ६४ करोड ९ लाख, सिद्धार्थ बैंकले ५५ करोड ९६ लाख एनएमबि बैंकले ५२ करोड १७ लाख र स्टान्र्डड चार्टड बैंकले ५० करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।

गत आर्थिक वर्षमा सानिमा बैंकले ३९ करोड ५४ लाख, माछापुच्छ्रे बैंकले ३२ करोड २७ लाख, कृषि विकास बैंकले ३० करोड ७९ लाख, नेपाल एसबिआई बैंकले ३० करोड ११ लाख, राष्ट्रिय वाणिज्य बैंकले २८ करोड ६९ लाख र नेपाल बैंकले २८ करोड ५४ लाख रुपैयाँ कर्मचारीका लागि छुट्याएको हो ।

समिक्षा अवधिमा कर्मचारी बोनसको लागि सबैभन्दा कम रकम छुट्याउनेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले कर्मचारी बोनसका लागि २ करोड ४० लाख रुपैयाँ छुट्याएको छ । साथै, सिटिजन्स बैंकले २० करोड ४२ लाख र हिमालयन बैंकले २३ करोड १८ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका हुन् ।

प्रचलित कानुनअनुसार कर अघिको नाफाको १० प्रतिशत बराबर रकम कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने व्यवस्था छ, जसअनुसार बैंकहरूले तोकिएको हिस्सा छुट्याएर आफ्नो कर्मचारीलाई बोनस उपलब्ध गराउने गरेका छन् ।

बैंकहरूले सामान्यतया बोनस वितरण गर्ने समय फरक–फरक तय गर्दै आएका छन् । कतिपय संस्थाले आफ्नो वार्षिक साधारण सभामा प्रस्ताव पारित भएपछि मात्र बोनस बाँडफाँड गर्ने गरेका छन् भने केहीले आर्थिक वर्ष सकिएलगत्तै वितरण गर्ने प्रचलन राखेका छन् । त्यस्तै, केही बैंकहरूले दशैं–तिहार जस्ता चाडपर्वलाई लक्षित गरी बोनस दिने प्रथा पनि कायम राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*