बीमा क्षेत्रका १२ हजार बढी कर्मचारीले लिए वर्षदिनमा १२ अर्ब रुपैयाँको सेवा सुविधा, कुन कम्पनीको बोनश व्यवस्था कस्तो ?

काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय रोजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजार २५१ जना कर्मचारी कार्यरत रहेका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले पनि आम नागरिकहरु बीमाको रोजगारीप्रति आकर्षित बन्दै गएका हुन् ।
जीवन र निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत १२ हजार २५१ जना कर्मचारीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कुल ११ अर्ब ९५ करोड ४४ लाख रुपैयाँको सेवा सुविधा लिएका छन् । नेपालमा सञ्चालित जीवन र निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको वित्तीय विवरणका अनुसार कर्मचारीहरुको सेवा सुविधाको दायरा ४.७५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब ४१ करोड १५ लाख रुपैयाँ सेवा सुविधा वापत वितरण गरेका थिए ।
कम्पनीहरुले उक्त रुपैयाँ कर्मचारीहरुको तलब, बोनश, विभिन्न तालिम, क्षमता अभिबृद्धि, वैदेशिक तथा आन्तरिक भ्रमणसहितका विषयमा खर्चिएका हुन् । पछिल्लो समय बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण, कर्मचारीको क्षमता अभिबृद्धि लगायतका विषयमा कम्पनीहरुले कर्मचारीहरुलाई विशेष तालिम समेत प्रदान गर्दै आइरहेका छन् ।
नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वर्षदिनमा ६ अर्ब ६० करोड २७ लाख रुपैयाँको सेवा सुविधा उपलब्ध गराएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको असार महिनासम्म जीवन बीमा कम्पनीहरुमा कार्यरत ६ हजार ११३ जना कर्मचारीलाई उक्त रकम वितरण गरिएको हो । जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुको बोनश, तलव लगायतका सेवा सुविधाको दायरा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.३७ प्रतिशतले बढाएको छ ।
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफले कर्मचारी सेवा सुविधामा सबैभन्दा बढी रकम खर्चिएका छन् । साथै, अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीको तलब, बोनश तथा विभिन्न सेवा सुविधा बढाएको छ ।
नेपाली बीमा क्षेत्रको ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी सेवा सुविधाको दायरा १९.४७ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा कम्पनीले ८८ करोड ७४ लाख रुपैयाँ बराबरको सेवा सुविधा आफ्ना कर्मचारीलाई उपलब्ध गराएको छ ।
साथै, हिमालयन लाइफले ८५ करोड ९४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६५ करोड ७१ लाख रुपैयाँ, नेशनल लाइफले ५० करोड ५४ लाख रुपैयाँ, एलआइसी नेपाल लाइफले ४४ करोड ३१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४४ करोड ३१ लाख रुपैयाँ, आइएमई लाइफले ४० करोड ५८ लाख रुपैयाँ बराबरको सेवा सुविधा कर्मचारीहरुलाई वर्षदिनमा उपलब्ध गराएको छ ।

स्रोतः सम्बन्धित जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण
समीक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीहरुको सेवा सुविधाको दायरा उच्च अंकले बृद्धि गराएको छ । विवरण अनुसार कम्पनीले गत आवमा आफ्ना कर्मचारीहरुलाई कुल ४० करोड २१ लाख रुपैयाँ सेवा सुविधा उपलब्ध गराएको छ ।
साथै, प्रभु महालक्ष्मी लाइफले ३८ करोड ६४ लाख रुपैयाँ, मेट लाइफ नेपालले ३६ करोड ३७ लाख रुपैयाँ, एशियन लाइफले ३६ करोड ३७ लाख रुपैयाँ, सिटिजन लाइफले ३६ करोड पाँच लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३५ करोड पाँच लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँको सेवा सुविधा उपलब्ध गराएका छन् ।
नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई पाँच अर्ब ३५ करोड १६ लाख रुपैयाँको सेवा सुविधा उपलब्ध गराएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत ६ हजार १३८ कर्मचारीहरुले उक्त सुविधा लिएका हुन् । कम्पनीले आफ्ना कर्मचारीलाई दशै, आर्थिक वर्षको अन्त्यमा तथा विभिन्न अवसरमा विशेष बोनश समेत वितरण गर्ने गरेका छन् ।
समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्सले आफ्ना कर्मचारीको सेवा सुविधामा विशेष ध्यान दिएको छ । विवरण अनुसार वर्षदिनमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६४ करोड चार लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले ६० करोड १७ लाख रुपैयाँ कर्मचारीहरुलाई सेवा सुविधा उपलब्ध गराएका छन् ।
साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५६ करोड ४२ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ६१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ४५ करोड ६९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४३ करोड ५७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४१ करोड ९० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ३६ करोड २३ लाख रुपैयाँ बराबरको तलब, बोनश र सेवा सुविधा वितरण गरेका छन् ।

स्रोतः सम्बन्धित जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण
विवरण अनुुुसार एनएलजी इन्स्योरेन्सले ३३ करोड २८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३२ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २४ करोड ७३ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सले २१ करोड ७४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २० करोड १५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ६ करोड ६० लाख रुपैयाँ कर्मचारी सेवा सुविधामा खर्चिएका छन् ।
समग्रमा बीमा कम्पनीहरू धेरै रोजगार वृद्धि गर्ने क्षेत्रमा पर्छ । तर, पछिल्लो समय आर्थिक सङ्कट तथा मर्जरका कारण पनि यस क्षेत्रबाट उल्लेख्य रूपमा रोजगारी वृद्धि हुन भने थिएन । यद्यपि, क्रमिक रूपमा सुधार भने देखिएको छ । पछिल्लो समय बीमा कम्पनीहरूको शाखा सञ्जाल तथा कर्मचारीको सङ्ख्या पनि बढ्दै गएको छ ।













