चीनमा बनेका सबै गाडीमा इजरायली सेनाको प्रतिबन्ध, के हो कारण ?

काठमाडौँ । इजरायली सेनाले चीनमा बनेका सबै गाडीहरूलाई आफ्ना सैन्य अड्डामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। सेनाले ती गाडीमा रहेका सेन्सर र क्यामरा मार्फत गोप्य सूचना चुहिन सक्ने जोखिम भएको आशंका गर्दै यो कदम चालेको हो।
इजरायली नेशनल न्युजका अनुसार चिनियाँ गाडी किनेका सैनिक अधिकृत र गैरसैन्य कर्मचारीहरूलाई अब सैन्य अड्डाभन्दा बाहिर पार्किङ गर्न निर्देशन दिइएको छ। यसअघि जिरिफिनको गिडियोनिम सिग्नल कोर्प्स अड्डामा पनि चिनियाँ गाडीको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। संवेदनशील क्षेत्रभन्दा परै गाडी पार्क गर्न भनिएको छ।
इजरायली सेनाले चीन निर्मित विद्युतीय गाडीहरू खरिद नगर्ने निर्णय गरेको छ। परीक्षणपछि कारको विद्युतीय प्रणालीमा रहेको ईकल सिस्टम नामक स्वचालित आकस्मिक सेवा फिचर हटाइएको भए पनि सुरक्षा विशेषज्ञहरूले यो पर्याप्त नभएको चेतावनी दिएका छन्।
चिनियाँ गाडीमा प्रतिबन्ध लगाउने कदम इजरायल पहिलो मुलुक भने होइन। बेलायतले सन् २०२५ मा आफ्ना सैन्य अड्डामा चिनियाँ गाडीको प्रवेशमा प्रतिबन्ध लगाएको थियो। काठमाडौंस्थित भारतीय र अमेरिकी दूतावासमा पनि संवेदनशील क्षेत्रभन्दा परै गाडी पार्क गर्नुपर्ने व्यवस्था गरिएको छ।













