जीवन बीमकले गरे साढे २ खर्ब आम्दानीः नेपाल–एलआईसी र नेशनल अगाडी, वृद्धिमा रिलायबल र सिटिजनबीच टक्कर

११ भाद्र २०८२, बुधबार १४:०९

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा १४ वटै जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

अघिल्लो आवमा २ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ कुल आम्दानी गरेका कम्पनीहरूले त्यसको तुलनामा गत आवमा १२.०१ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएका हुन्।

गत आवमा सर्वाधिक आम्दानी गर्नेमा नेपाल लाइफ प्रथम स्थानमा रहँदै कुल ६८ अर्ब ३० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ भने दोस्रोमा एलआईसी नेपालले ३२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ।

त्यसैगरी गत वर्ष नेशनल लाइफले २८ अर्ब ६२ करोड रुपैयाँ, हिमालयन लाइफले २५ अर्ब ४१ करोड रुपैयाँ, सूर्यज्योति लाइफले १५ अर्ब १३ करोड रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमाले १४ अर्ब ४ करोड रुपैयाँ र एशियन लाइफले १३ अर्ब १६ करोड रुपैयाँ कुल आम्दानी गरेका छन्।

त्यसपछि सिटिजन लाइफले ९ अर्ब ७९ करोड रुपैयाँ, मेटलाइफले ८ अर्ब ९९ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८ अर्ब ६९ करोड रुपैयाँ, आइएमई लाइफले ७ अर्ब १८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ६ अर्ब ८२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ६१ करोड रुपैयाँ र सन नेपाल लाइफले ५ अर्ब ४० करोड रुपैयाँ कुल आम्दानी गरेका छन्।

वृद्धिदरको आधारमा
कम्पनीहरूले अघिल्लो आवमा गरेको कुल आम्दानीसँग गत आवमा गरेको कुल आम्दानी दाँजेर हेर्ने हो भने रिलायबल नेपालले सर्वाधिक २९.८५ प्रतिशतले कुल आम्दानी बढाउन सफल भएको छ।

त्यससँगै सिटिजन लाइफले कडा टक्कर दिंदै २९.३३ प्रतिशतले आम्दानी बढाएको छ भने तेस्रोमा रहेर सन नेपालले २१.३५ प्रतिशतको वृद्धि सहित पछ्याइरहेको छ।

त्यसपछि आइएमई लाइफ २०.०८ प्रतिशत, सूर्यज्योति १९.५२ प्रतिशत, प्रभु महालक्ष्मी १८.६४ प्रतिशत, सानिमा रिलायन्स लाइफ १५.४९ प्रतिशत र नेपाल लाइफको १५.४३ प्रतिशतले कुल आम्दानी बढेको छ।

त्यसैगरी हिमालयन लाइफ १२.०४ प्रतिशत, एलआईसी नेपाल ७.८७ प्रतिशत, मेटलाइफ ७.६७ प्रतिशत, एशियन लाइफ ७.१२ प्रतिशत र नेशन लाइफको ५.९६ प्रतिशतले कुल आम्दानी बढ्दा राष्ट्रिय जीवन बीमा कम्पनीको भने ७.३२ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*