फेसबुकसहितका सामाजिक सञ्जाल ७ दिनभित्र सूचीकरण नभए बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । सरकारले फेसबुक र अन्य सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण गर्न आह्वान गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको हो।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई जवाफदेही बनाउने नीति अघि सारेको छ। यसअन्तर्गत सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सामाजिक सञ्जाललाई समय दिइएको छ।
तोकिएको समयमा सूचीकरण नगरेका वा मन्त्रालयसँग सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र प्रयोग गर्न नदिने निर्णय पनि सरकारले गरेको छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइनेछ।













