पुँजी बजारमा लगानी बढाउँदै जीवन बीमकहरुः १३ कम्पनीद्वारा ३० अर्बको शेयर खरिद, हिमालयन लाइफकै १० अर्ब

१२ भाद्र २०८२, बिहीबार १४:०७

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् ।

नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ शेयर खरिद गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशतभन्दा बढी शेयर खरिद गरी लगानीको दायरा बृद्धि गर्न सफल भएका छन् । कम्पनीहरुले अघिल्लो आवको असार मसान्तसम्मको अवधिमा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ बराबरको लगानी पुँजी बजारमा गरेका थिए ।

समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा सबैभन्दा बढी लगानी गरेका छन् । साथै, अघिल्लो आवको तुलनामा गत आवमा सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सले शत प्रतिशत भन्दा बढीले लगानीको दायरा बृद्धि गरेका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण

हिमालयन लाइफ इन्स्योरेन्सले दोस्रो बजारमा सूचीकृत विभिन्न कम्पनीहरुको साधारण शेयरमा १० अर्ब ८५ करोड ९७ लाख रुपैयाँ लगानी गरेका छन् । कम्पनीले शेयर बजारमा लगानीको दायरा ९१.७१ प्रतिशतले बृद्धि गरेको छ । बजारको अनुकुलतामा कम्पनीले विभिन्न सेक्टरका उच्च प्रतिफल दिने कम्पनीहरुको शेयर खरिद गर्दै कम्पनीको लगानीको दायरा बृद्धि गरेको छ ।

साथै, लगानी विविधिकरणको सिद्धार्थ अबलम्बन गरेको नेपाल लाइफ इन्स्योरेन्सले चार अर्ब १२ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको साधारण शेयर खरिद गरेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा शेयर बजारको लगानी ४२.८१ प्रतिशतले बढाएको छ । दोस्रो बजारको लगानीमा जीवन बीमा कम्पनीहरुले निकै रुची बढाएको देखिएको छ ।

समीक्षा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई अर्ब ९२ करोड ५६ लाख रुपैयाँ, एलआइसी नेपालले दुई अर्ब ३४ करोड २३ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ४७ करोड १६ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले एक अर्ब ३३ करोड ८९ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब २९ करोड ४३ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले एक अर्ब २२ करोड ३७ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक अर्ब १५ करोड २९ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको शेयर खरिद गरेका छन् ।

साथै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ९९ करोड दुई लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ८६ करोड ४३ लाख रुपैयाँ र सरकारी लगानीको राष्ट्रिय जीवन बीमा कम्पनीले ५४ करोड ६२ लाख रुपैयाँको सूचीकृत शेयर कम्पनीहरुको शेयर खरिद गरेका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण

बृद्धिदरका आधारमा शेयर बजारमा लगानी सर्वाधिक लगानी बढाउने कम्पनीमा सिटिजन लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले दोस्रो बजारमा ३३९ प्रतिशतले लगानी बढाएको छ । सागै, सन नेपाल लाइफ इन्स्योरेन्सले १५७ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सले १५२, सूर्यज्योति लाइफ इन्स्योरेन्सले १२९ प्रतिशतले लगानी बढाएका छन् ।

मेट लाइफ इन्स्योरेन्स अमेरिकन जीवन बीमा कम्पनी हो । यो कम्पनीले नेपाली पूजी बजारमा सूचीकृत भएका कुनै पनि कम्पनीहरुमा लगानी नगरेको भएकाले प्राधिकरणले उक्त कम्पनीको सो लगानी उल्लेख गरेको छैन् ।

जीवन बीमा कम्पनीहरुले मुद्धती निक्षेपबाट बाहिर निस्कदै विभिन्न क्षेत्रमा समेत लगानीको दायरा बढाएर अगाडि लगिरहेको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्न बीमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्देशिका जारी गरेसँगै कम्पनीहरुल लगानीको दायरा बढाउदै लगिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*