अमेरिकी ५० प्रतिशत करको दबाबले भारतीय शेयर बजार धराशायी

काठमाडौँ । अमेरिकाले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्मको भारी कर लगाएको प्रभाव भारतीय शेयर बजारमा लगातार देखिएको छ। मंगलबारदेखि सुरु भएको गिरावट बिहीबार पनि जारी रह्यो र बजारमा थप ठूलो दबाब देखियो। आज स्टक एक्सचेन्जको सेन्सेक्स ७०६ अंकले घटेर ८० हजार ८०.५७ अंकमा पुगेको छ भने नेशनल स्टक एक्सचेन्जको निफ्टी ५० अंकले तल झरेर २४ हजार ५०० मा सीमित भएको छ। यसअघि मंगलबार पनि दुवै सूचकांकमा ठूलाे गिरावट आएको थियो भने बुधबार गणेश चतुर्थीको सार्वजनिक बिदाका कारण बजार बन्द भएको थियो।
अमेरिकी ट्यारिफको प्रत्यक्ष प्रभाव भारतीय बजारका विभिन्न क्षेत्रीय कम्पनीहरूमा देखिएको छ। विशेषगरी सूचना प्रविधि, स्वास्थ्य सेवा र रियल स्टेट क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ। निर्यात–मुखी यी क्षेत्रमा अमेरिकी बजार महत्त्वपूर्ण गन्तव्य भएकाले लगाइएको शुल्कले व्यवसायिक आम्दानीमा ठुलो धक्का पुर्याउने अनुमान गरिएको छ।
अर्थतन्त्रका विज्ञहरूले पनि अमेरिकाले लागू गरेको उच्च करले भारतको निर्यात प्रतिस्पर्धा कमजोर पार्ने र कम्पनीहरूको नाफामा प्रत्यक्ष असर गर्ने चेतावनी दिएका छन्। यस्तो आशंकाले लगानीकर्ताहरूको विश्वास घटेको छ र उनीहरू जोखिम कम गर्ने उद्देश्यले सेयर बेच्ने क्रम तीव्र भएको छ। नयाँ लगानी गर्नेहरू पनि अनिश्चितताका कारण पछि हटिरहेका छन्।
भारतीय मिडिया रिपोर्टअनुसार अमेरिकी कदमले लगानीकर्तामा ठूलो मानसिक दबाब सिर्जना गरेको छ। केही विश्लेषकहरूले यो छोटो अवधिको बजार प्रतिक्रिया भए पनि यसले मध्यम र दीर्घकालमा भारतीय अर्थतन्त्रलाई थप चुनौती दिने सम्भावना रहेको बताएका छन्। विदेशी लगानीकर्ताले बजारबाट रकम फिर्ता लिन थालेपछि स्थिति अझै जटिल भएको देखिएको छ।
यसैबीच भारतीय रुपैयाँमा पनि दबाब देखिएको छ भने आयातकर्ताले लागत वृद्धिको चिन्ता गरेका छन्। निर्यात–आयात दुवै क्षेत्रमा असन्तुलन बढ्ने खतरा रहेको विश्लेषकहरूको भनाइ छ।












