बिहीबारदेखि मान्डु हाइड्रोपावरबाट पूर्ण क्षमतामा बिजुली उत्पादन सुरु

काठमाडौं । मान्डु हाइड्रोपावरले बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि विद्युत् उत्पादन पुनः थालिएको हो। पुनर्निर्माण सकेर मान्डु हाइड्रोपावरले गत साउन १९ देखि ५० प्रतिशत विद्युत् उत्पादन सुरु गरेको थियो ।
‘बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालिएको छ,’ मान्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले भने । पुनर्निर्माण सकेर पहिलो चरणमा ११ मेगावाट उत्पादन गरिएको थियो । बाढीले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम गत मंसिरदेखि सुरु गरिएको थियो । यसमा प्राविधिक र कामदार गरेर दिनको ६० जनाभन्दा बढी खटिएका थिए ।

सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षतविक्षत बनाएको थियो । मान्डु हाइड्रोले सडकको मर्मतसम्भार गरेर आयोजनास्थलसम्म पुग्ने बाटोसमेत खोलेर पुनर्निर्माणको काम अघि बढाएको थियो ।
आयोजनाको पावरहाउसबाट कुलेखानी प्रथमको सबस्टेसन साढे १३ किलोमिटर दूरीमा छ । कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित बिजुली पुर्याउन ४२ वटा टावर निर्माण गरिएको छ । त्यसमध्ये दुई टावरलाई बाढीले क्षतिग्रस्त बनाएको थियो ।













