शाखा विस्तारमा आक्रामक बन्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, कञ्चनपुरको महेन्द्रनगरमा नयाँ उपशाखा सञ्चालन

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कञ्चनपुर ज्ल्लिाको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा नयाँ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८२–८३ का लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रमअनुसार कञ्चनपुरमा उक्त उपशाखा सञ्चालनमा ल्याएको हो ।
उपशाखा कार्यालयको उद्घाटन कम्पनीका मानव संसाधन विभागका प्रमुख विष्णु प्रसाद घिमिरेले गरेका छन् । कार्यक्रममा स्थानीय बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, व्यवसायी, सरोकारवालासहित कम्पनीका कर्मचारीहरूको उपस्थिति थियो।
उद्घाटन समारोहमा बोल्दै घिमिरेले लक्षित वर्गसम्म सरल र सहज तरिकाले लघुबीमा सेवा पुर्याउने कम्पनीको प्रतिबद्धता जनाए । साथै, बीमितलाई सेवा प्रदान गर्ने क्रममा कुनै कमी–कमजोरी नगर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिम प्रदेशमै छोटो अवधिमा कार्यालय विस्तार गर्न सफल भएको छ। महेन्द्रनगर उपशाखासहित हाल प्रदेशभित्र ६ वटा कार्यालयहरू सञ्चालनमा छन्। जसमा कैलालीको धनगढीस्थित मुख्य कार्यालय र एक्सटेन्सन काउण्टर गरी दुईवटा, लम्की (कैलाली), कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा उपशाखा रहेका छन्।
२०७९ पौष १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त यस कम्पनीले देशभर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३४ वटा कार्यालयमार्फत सेवा विस्तार गरिसकेको छ।













