५५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक : अधिक तरलता व्यवस्थापनमा आज २१ दिनका लागि बोलकबोल

१५ भाद्र २०८२, आईतवार ११:०३

काठमाडौँ । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज आइतवार २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उठाइनेछ ।

हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा राष्ट्र बैंकले वित्तीय प्रणालीको अतिरिक्त तरलता नियन्त्रण र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तानेको हो ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यस क्रममा सहभागीहरूले प्रस्ताव गरेका ब्याजदरअनुसार सबैभन्दा कम दरलाई प्राथमिकता दिइनेछ र आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

अनलाइन खरिद प्रणालीमार्फत हुने बोलकबोलबाट ब्याजदर निर्धारण गरिनेछ । आज संकलित निक्षेपको सावाँ तथा ब्याज रकम २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम बोलकबोल गर्न सक्नेछन् भने कुल आह्वान रकमसम्म भाग जाने गरी प्रक्रिया सञ्चालन हुनेछ ।

केन्द्रिय बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार दीर्घकालीन प्रकृतिको अतिरिक्त तरलता देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले अधिकतम ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । सोही प्रावधानअन्तर्गत राष्ट्र बैंकले आवश्यकता अनुसार पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

12.-DC_Notice-2082.05.15

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*