स्थिर सरकारमा आर्थिक स्थायित्व सुनिश्चित, पर्यटन प्रवद्र्धनमा कुनै कसर बाँकी राखिँदैन : अर्थमन्त्री

१५ भाद्र २०८२, आईतवार १४:१७

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारलाई संसदीय अंकगणित भित्र सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो सरकार अर्को कुनै बन्न नसक्ने स्पष्ट पारे ।

उनले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर सरकार बनेको हुँदा राजनीतिक स्थिरताको सुनिश्चितता भएको उल्लेख गर्दै यो सहकार्य २०८४ सालको निर्वाचनसम्म निरन्तर रहने दाबी गरे । पौडेलले भने, ‘अहिलेको संसदीय अंक गणित भित्र यसभन्दा बलियो र स्थिर सरकार अर्को हुन सक्दैन । हामीले यसबीचमा स्थिरता कायम गरेका छौं । अब सरकार फेरिन्छ भन्ने आशंका र दुबिधाबाट देश निस्किएको छ ।’

त्यस्तै, मन्त्री पौडेलले पर्यटन प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा राखिएको जनाउँदै नीति, कार्यक्रम र बजेटमार्फत महत्वपूर्ण कार्यक्रम घोषणा भइसकेको बताए । पर्यटन प्रवद्र्धनका लागि सरकारले कुनै कमी नराख्ने स्पष्ट पार्दै उनले सरकार आवश्यक सबै कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘अहिले सरकारले पर्यटन प्रवद्र्धनका लागि नीति, कार्यक्रम र बजेटमार्फत महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ । त्यसतर्फ नै हाम्रो ध्यान छ । गर्नुपर्ने जे हो, सरकारले सबै गर्छ ।’

कार्यक्रममा अर्थमन्त्रीले पर्यटन क्षेत्रमा कर छुटको माग धेरै उठ्ने गरेको चर्चा गर्दै कर छुटले मात्र राज्य चलाउन नसकिने बताए । साधारण खर्च धान्न समेत कठिनाइ हुने परिस्थितिमा अन्धाधुन्ध छुट सम्भव नभएको स्पष्ट गर्दै उनले व्यवसाय प्रवद्र्धनका लागि ठोस प्रस्ताव लिएर आउन पर्यटन व्यवसायीहरुलाई सुझाव दिए ।

पौडेलले भने, ‘करमा जताततै छुट दिन थालियो भने राज्य चलाउन सकिँदैन । साधारण खर्च धान्न समेत धौधौ छ भने विकास त परको कुरा भयो । त्यसैले कर छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनका लागि के प्रस्ताव हुन्छ भन्ने ल्याउनुहोस्, सरकार सम्बोधन गर्न आतुर छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*