जीवन बीमा कम्पनीद्वारा साउनमा साढे तीन अर्बको प्रथम बीमा शुल्क आर्जन, सिटिजन र आइएमई लाइफको उत्कृष्ट सुरुवात

१५ भाद्र २०८२, आईतवार १४:५१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको सुरुवाती अर्थात साउन महिनामा तीन अर्ब २७ करोड २४ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार साउन महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमासहित उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुको नयाँ व्यवसाय गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २१ दशमलव २७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा दुई अर्ब ६९ करोड ८५ लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए । विवरण अनुसार साउन महिनामा पनि नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

यता, गत आवको तुलनामा सिटिजन, आइएमई लाइफ र नेपाल लाइफ आक्रामक देखिएका छन् । समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये चार वटाको प्रथम बीमा शुल्क आर्जनमा गिरावट आएको छ । यता, सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा कारोबार बहिस्कार गरेका कारण प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स नयाँ व्यवसाय भित्र्याउनमा आक्रामक देखिएको छ । कम्पनीले चालु आवको साउन महिनामा मात्रै आफ्नो प्रथम बीमा शुल्क आर्जन १५३.५९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । दोस्रो नम्बरमा रहेको आइएमई लाइफ इन्स्योरेन्स पनि नयाँ व्यवसाय भित्र्याउन आक्रामक रुपमा अघि बढिरहेको छ । कम्पनीले गत आवको तुलनामा आफ्नो नयाँ व्यवसाय ८१.६५ प्रतिशतले बढाउन सफल भएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो महिनामा ५७.४३ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएको छ । साथै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४६.७५ प्रतिशत र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३३.६८ प्रतिशतले गत आर्थिक वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

साउन महिनामा मेट लाइफको १५.८३ प्रतिशत, सरकारी कम्पनी राष्ट्रिय जीवन बीमाको १४.६१ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १४.२७ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७.८२ प्रतिशत र एलआइसी नेपालको ६.६१ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार नेशनल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको छ ।

समग्र रुपमा हेर्दा साउन महिना बीमा कम्पनी र अभिकर्ताहरुको लागि निकै महत्वपूर्ण रहेको छ । अभिकर्ताहरुलाई कम्पनीहरुले दिएका विभिन्न टार्गेटहरुको सुरुवाती नै साउन महिनाबाट हुन्छ । जीवन बीमा कम्पनीहरुले साउन महिनामा विभिन्न व्यवसायीक रणनीतिक योजना र अभिकर्ता प्रोत्साहन गर्ने लगायतका क्रियाकलाप बढी हुने गर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*