१० वाणिज्य बैंकको ऋण गुणस्तर परीक्षणः राष्ट्र बैंकले दियो बंगलादेशी कम्पनीलाई पाँच महिनाको समय

१६ भाद्र २०८२, सोमबार ११:२८

काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण गर्ने जिम्मा पाएको बंगलादेशी कम्पनीले पाँच महिनाभित्र काम पूरा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमा अनुसार हाउलाडार युनुस एण्ड कम्पनीले आगामी जनवरी महिनाको अन्त्यसम्म सम्पत्ति गुणस्तर परीक्षणसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको हो ।

यसका लागि गत बिहीबार राष्ट्र बैंक र कम्पनीबीच करार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राष्ट्र बैंकले परीक्षणका लागि अन्तर्राष्ट्रिय अनुभव भएको कम्पनी रोजेको हो । यस क्रममा प्रतिस्पर्धात्मक प्रस्तावहरूबीच बंगलादेशी कम्पनीले पेस गरेको २७१ हजार ६७० अमेरिकी डलर ५ सेन्ट बराबरको प्रस्ताव स्वीकृत गरिएको छ । यसरी विदेशी कम्पनीलाई जिम्मेवारी दिइनुले परीक्षणको निष्पक्षता, पारदर्शिता र अन्तर्राष्ट्रियस्तरको अभ्यासलाई अंगीकार गर्ने राष्ट्र बैंकको उद्देश्य रहेको छ ।

गुणस्तर परीक्षणको दायरामा हालै मर्जर तथा प्राप्तिमा गएका ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंक पर्छन् । साथै, एनआईसी एशिया बैंक, एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकसमेत परीक्षणमा समावेश हुनेछन् । यी सबै बैंकहरू नेपालका अग्रणी वाणिज्य बैंक भएकाले तिनको अवस्थाले समग्र बैंकिङ प्रणालीमा प्रत्यक्ष प्रभाव पार्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*