निर्माको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित एजेन्डा पारित

१६ भाद्र २०८२, सोमबार १२:३६

काठमाडौं । नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसन (निर्मा) को पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मल्पी इन्टरनेशनल कलेज, चक्रपथ, काठमाडौंमा भव्य र सफलतापूर्वक सम्पन्न भएको हो । सभामा कार्यसमिति सदस्यहरू र ट्रस्टी सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

सभामा अध्यक्ष डा. रविन्द्र घिमिरेले निर्माको वार्षिक प्रतिवेदनमा विगत वर्षमा संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू ‘निर्मा टक सिरिज’, अन्य सम्बन्धित कार्यक्रमहरू, बीमा क्षेत्रसँग सम्बन्धित अध्ययन र अनुसन्धान कार्यहरू, विभिन्न संस्थाहरूसँगको सहकार्य र आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी समावेश गरिएको थियो । छलफलपछि प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको छ।

साथै, कोषाध्यक्ष सुकल्याण पराजुलीले आर्थिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विगत वर्षको आम्दानी–खर्च विवरण, परियोजनागत खर्च, सदस्यता नवीकरण र सहयोग स्रोतको अवस्था प्रस्तुत गरिएको थियो भने लेखा परीक्षण प्रतिवेदनमा संस्थाको वित्तीय गतिविधि पारदर्शी र अनुशासित रहेको निष्कर्ष राखिएको थियो। यस प्रतिवेदनलाई पनि सदस्यहरूको प्रश्न र सुझावसहित अनुमोदन गरिएको छ ।


चालु वर्ष २०८२–८३ का कार्यक्रम र बजेट प्रस्ताव महासचिव दिपक अधिकारीले प्रस्तुत गरेका थिए । प्रस्तुत योजनामा बीमा शिक्षा विस्तार, पेशागत क्षमता अभिवृद्धि गर्ने तालिम तथा कार्यशाला, अनुसन्धान र प्रकाशन, सदस्य संलग्नता बढाउने कार्यक्रम र नियामक तथा शैक्षिक संस्थासँग सहकार्य गर्ने नीति समावेश गरिएको थियो। बजेटमा यी सबै कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक स्रोत परिचालन गर्ने योजनाबारे व्याख्या गरिएको थियो।

सदस्यहरूले राखेका सुझावहरूलाई समेटेर कार्यक्रम र बजेटलाई सर्वसम्मत अनुमोदन गरिएको छ। विविध विषयअन्तर्गत, सदस्यहरूले निर्मालाई अझ प्रभावकारी बनाउन बीमा शिक्षा क्षेत्रमा अझ व्यापक काम गर्ने, अन्तरक्रिया बढाउने र अन्तर्राष्ट्रिय स्तरमा सहकार्य विस्तार गर्ने जस्ता सुझावहरू प्रस्तुत गरेका थिए। कार्यसमितिले यी सबै सुझावलाई प्राथमिकताका साथ आगामी कार्ययोजनामा समावेश गर्ने निर्णय गरेको छ ।

सभाको समापन सत्रमा उपाध्यक्ष उदय राज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । उनले सदस्यहरूको निरन्तर साथ, सुझाव र संलग्नताप्रति आभार व्यक्त गर्दै संस्थाको आगामी यात्रामा अझ प्रगतिको अपेक्षा गरेका छन् । कार्यक्रमको सञ्चालन महासचिव दिपक अधिकारीले गरेका थिए ।

पाँचौँ वार्षिक साधारण सभाले निर्माको गतिविधिलाई थप संस्थागत, पारदर्शी र दिगो बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ । यसले बीमा र जोखिम व्यवस्थापन क्षेत्रको चेतना, शिक्षा र अनुसन्धानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ । संस्थाले सभामा सहभागी कार्यसमिति सदस्यहरू र ट्रस्टी सदस्यहरूलाई हार्दिक आभार व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*