कञ्चनपुरमा बाढीको बितन्डा: ५४ घर डुबान, २१८ बासिन्दा विद्यालय र सार्वजनिक भवनमा आश्रित

काठमाडौँ । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीका कारण दोधरा चाँदनी नगरपालिकाका तीन वडाका बासिन्दा अझै घर फर्कन सकेका छैनन्। जोगबुढा नदीमा आएको बाढीले बस्ती पसेपछि ती परिवार विस्थापित भएका हुन्। हालसम्म बस्ती डुबानमै रहेकाले उनीहरू नजिकैका विद्यालयमा बस्दै आएका छन्।
बाढीले ५४ घर डुबानमा परेका छन्। डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित परिवारलाई नजिकैका विद्यालय र सार्वजनिक भवनमा राखिएको छ। वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा, वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जनालाई सरसामान तथा चौपायासहित जमुना आधारभूत विद्यालयमा राखिएको छ। त्यस्तै, वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्विका माध्यमिक विद्यालयमा राखिएको छ।
यसैगरी, सोही वडाको सुन्दरनगरस्थित सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालयमा सारिएको छ भने कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा स्थानान्तरण गरिएको छ। डीएसपी बोहराका अनुसार समयमा उद्धारकार्य सम्पन्न भएकाले कुनै अप्रिय घटना भने हुन पाएन।
महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको प्रहरीको भनाइ छ। मंगलबार बिहान ७ः०० बजे गरिएको मापनअनुसार नदीमा एक लाख ७१ हजार ९१३ क्यूसेक पानीको बहाव देखिएको छ। यसअघि सोमबार साँझ ५ः०० बजे यस वर्षकै सबैभन्दा बढी दुई लाख ७१० क्यूसेक पानीको बहाव महाकालीमा पुगेको थियो।
सीमा क्षेत्र बनवसास्थित पुलमा भने अझै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक छ।













