नयाँ बसपार्क नजिकै अवैध रुपमा पैसा लुकाउने ठाउँमा प्रहरीको छापा, चार करोड बरामद
१७ भाद्र २०८२, मंगलवार १६:०१

काठमाडौँ । राजधानीको नयाँ बसपार्क आसपासको क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नगदसहित छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले अवैध रुपमा रकम लुकाइएको भन्ने विशेष सूचनाका आधारमा गोंगबुस्थित एक घरमा अप्रत्याशित छापा हालेको हो ।
गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। छापामारीका क्रममा करिब ४ करोड रुपैयाँ बरामद गरिएको उपत्यका प्रहरी कार्यालयले पुष्टि गरेको छ । बरामद गरिएको नगद कसरी संकलन भएको र त्यसको स्रोत के हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार रकमको वास्तविक मालिक र यसको प्रयोगबारे प्रारम्भिक अनुसन्धान चलिरहेको छ भने यससम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।













