अर्घाखाँचीमा पत्नीको हत्यापछि घरको भान्सामा गाडिएको अवस्थामा शव फेला, श्रीमान् पक्राउ

१७ भाद्र २०८२, मंगलवार १६:२६

काठमाडौँ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ०४ पातलेपोखरामा एक पुरुषले आफ्नै पत्नीको हत्या गरी घरभित्र गाडेको घटनाले स्थानीय समुदाय स्तब्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्युठान नौबहिनी गाउँपालिका वडा नं. ०१ स्याउलीबाङ स्थायी घर भई हाल अर्घाखाँची पातलेपोखरामा बसोबास गर्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङको हत्या गरी घरको भान्साकोठामा गाडेको खुल्न आएको हो ।

सुमित्रा ४/५ दिनदेखि हराइरहेकी भन्दै छिमेकी र माइती पक्षले प्रहरीलाई जानकारी गराएपछि खोजतलास सुरु गरिएको थियो । अनुसन्धानका क्रममा भदौ १२ गते राति करिब १२ बजे पति–पत्नीबीच वादविवाद हुँदा किरणले बाँसको लाठि र हँसियाको पछाडिको भाग प्रयोग गरी सुमित्रामाथि आक्रमण गरी हत्या गरेको पाइएको छ । शवलाई कम्बलमा बेरेर भान्साकोठामा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ ।

मृतकको शव गन्हाउन थालेपछि प्रहरीले भदौ १६ गते राति ८:३० बजे उत्खनन् गरी पोष्टमाटमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाएको हो । घटनामा संलग्न किरण गुरुङलाई सोही दिन पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा खुलेका विवरणअनुसार किरण गुरुङ र सुमित्रा कुमाल गुरुङबीच करिब १० वर्षअघि प्रेम सम्बन्ध रहेर दोस्रो विवाह भएको थियो । उनीहरूको ९ वर्षीया एक छोरी रहेको छ । किरणका पूर्वपत्नीबाट दुई छोरी र सुमित्राकी पूर्वपतिको तर्फबाट तीन छोरासमेत रहेको खुलेको छ । घटनाको रात किरण भजनकीर्तनको कार्यक्रमबाट फर्की घर पुगेपछि मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद उत्पन्न भई हत्या भएको अनुसन्धानले देखाएको छ ।

प्रहरीले घटनास्थलबाट बाँसको लाठि, हँसिया, गैँची, बेल्चा, सानो कोदालो, रक्सीको खाली तथा भरिएको बोतल बरामद गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*