म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, लगानी र न्याभको अवस्था कस्तो ?

काठमाडौं। शेयर बजारमा आएको लगातार गिरावटले सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरुको वित्तीय अवस्था कमजोर परेको छ। हाल सूचीकृत ४५ वटा फन्डहरुले सार्वजनिक गरेको साउन महिनाको वित्तीय विवरणले यस्तो स्थिति देखाएको हो। फन्डहरुको नाफा, सेयर बजारमा गरिएको लगानी र खुद इकाई सम्पत्ति सबै घटेको विवरण रिपोर्टमा समावेश छ।
साउनमा फन्डहरुको नाफा ९८.४७ प्रतिशतले घटेर १० करोड ८७ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ। यो रकम गत असारसम्मको ७ अर्ब १० करोड २७ लाख ३९ हजार रुपैयाँको तुलनामा अत्यधिक कम हो।
साउन अन्तसम्म आइपुग्दा फन्डको लगानी साढे प्रतिशत घटेर ४० अर्ब ८७ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।
यसैगरी, फन्डहरुको शेयर बजारमा गरिएको लगानी पनि साढे ४ प्रतिशतले घटेको छ। न्याभ पनि औसत ०.३३ रुपैयाँले घटेको रिपोर्टमा उल्लेख छ। विशेषज्ञहरुका अनुसार, यो गिरावटको मुख्य कारण सेयर बजारमा आएको समग्र कमजोरी हो। बजार मूल्यमा घटबढसँगै फन्डहरुको वित्तीय सूचकहरु पनि प्रतिकूल असरमा परेका छन्।
धेरै फन्ड घाटामा, केही मात्र नाफामा
साउनमा अधिकांश फन्डहरूको नाफा घटेको देखिन्छ। ४५ वटा फन्डमध्ये २९ वटा मात्र नाफामा देखिएका छन् भने १६ वटा फन्ड घाटामा रहेका छन्। नाफा कमाउने फन्डहरूमध्ये सनराइज फोकस इक्विटी फन्ड सर्वाधिक नाफामा रहेको छ। यसले करिब ८ करोड रुपैयाँ नाफा कमाएको छ, तर अघिल्लो महिनासँग तुलना गर्दा ६१ प्रतिशतभन्दा बढी घटेको छ।
त्यस्तै, लक्ष्मी भ्यालु फन्ड–५, सनराइज फर्सट म्युचुअल फन्ड र एनआइसी एशिया फ्लेक्सी क्याप पनि सकारात्मक नाफामा छन्। यद्यपि, एनआइबिएल समृद्धि फन्ड–२, मेगा म्युचुअल फन्ड १, सानिमा लार्ज क्याप लगायतका १६ वटा फन्ड घाटामा रहेका छन्।
घाटामा रहेका फन्डहरूको कारण बजारमा आएको अनिश्चितता र केही ठूलो लगानीको मूल्यमा आएको कमी हो। नाफामा रहेका फन्डहरूले पनि अघिल्लो महिनाको तुलनामा घटबढ देखाएका छन्।

लगानी देखिएको उतार-चढाव
साउनमा फन्डहरूको सेयर बजारमा गरिएको लगानी करिब डेढ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो महिनामा फन्डहरूले करिब ४२ अर्ब रुपैयाँ लगानी गरेका थिए भने साउनको अन्त्यसम्म यो रकम ४० अर्ब ८७ करोड रुपैयाँमा झरेको छ। धेरै फन्डको लगानी घटेको भए पनि केही फन्डहरूले लगानी बढाएका छन्।
बढी लगानी भएका फन्डहरूमा गरिमा समृद्धि योजना, एनआइसी एशिया ब्यालेन्स्ड फन्ड र रिलायबल समृद्धि योजना प्रमुख छन्। यी फन्डहरूले १०–२४ प्रतिशतसम्म लगानी वृद्धि गरेका छन्। यद्यपि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, सनराइज फर्सट म्युचुअल फन्ड र लक्ष्मी उन्नती फन्ड जस्ता फन्डहरूको लगानी घटेको छ।

न्याभको अवस्था कस्तो ?
न्याभ पनि साउनमा घटेको देखिन्छ। अघिल्लो महिनाको औसत ११.७३ रुपैयाँ रहेको न्याभ यस महिनामा सामान्य रूपमा ११.४० रुपैयाँमा झरेको छ। केही फन्डहरूमा न्याभ बढेको छ भने धेरै फन्डमा गिरावट देखिएको छ। प्रभू स्मार्ट फन्ड, हिमालयन ८०–२०, प्रभू सेलेक्ट फन्ड, एनएमबि सुभल इन्भेष्टमेन्ट फन्ड जस्ता फन्डको न्याभ अझै उच्च मूल्यमा कायम छ। तर, सनराइज ब्लुचिप फन्ड, एनआइसी एशिया सेलेक्ट–३० र कुमारी सुनौलो लगानी योजना जस्ता फन्डमा न्याभ गिरावट आएको छ।
न्याभमा आएको उतार-चढावले फन्डको वास्तविक मूल्य र लगानीकर्ताको विश्वास दुवैलाई प्रभावित पार्दछ। लगानीकर्ताहरूले बजारको वर्तमान स्थिति बुझेर मात्र निर्णय गर्नु आवश्यक छ।













