हिमालयन इन्भेष्टमेन्ट बैंकरको एचएलआई लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले निष्काशन गरेको एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई कोष प्रबद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागेको हो।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ।
बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात २० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।












