नयाँ र पृथक बीमा योजना ल्याएर आम नागरिकलाई समेट्नु बीमकको दायित्व होः सुशील सुवेदी

काठमाडौँ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले बीमा कम्पनीहरूले बजारमा ल्याउने नयाँ–नयाँ पोलिसीबारे आम नागरिकलाई आधारभूत जानकारी दिनु बीमा कम्पनीकै प्रमुख दायित्व भएको बताएका छन् । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ नामक पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बीमा कम्पनीहरूले बनाउने पोलिसीबारे बजारमा पूर्ण जानकारी नपुग्ने मात्र नभई कतिपय अवस्थामाआफ्नै कर्मचारीले समेत पूर्णरूपमा बुझ्न नसकेको उनले बताए । ‘हामीले गर्ने खोजेको चिज र बजारमा बुझिने चिजबीच आकाश–जमिनको फरक हुन्छ’ उनले भने ।
सुवेदीले हिमालयनले प्रकाशन गरेको पुस्तकको प्रचार अन्य बीमा कम्पनीमा समेत गर्नुपर्नेमा जोड दिए । बीमा सचेतनाबारे बीमा उद्योगमै छलफल चलाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले पुस्तकका सकारात्मक पक्षलाई निरन्तर प्रचार गर्न आग्रह गरे । उनका अनुसार प्रचारप्रसारका क्रममा आउने प्रतिक्रियाले आगामी दिनमा अझ उत्कृष्ट पुस्तक निकाल्न सहयोग पुग्नेछ ।
बीमा सचेतनाका कार्यलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सुवेदीले उक्त पुस्तकका कारण सर्वसाधारणले बीमा किन्ने कारण, जोखिमबारे जानकारी र दाबी प्रक्रियाबारे बुझ्न सहज हुने विश्वास व्यक्त गरे । ‘बीमा जागरणलाई अघि बढाउन यस्तो पहल महत्वपूर्ण हुन्छ’ उनले भने ।
उनले बीमा सचेतनामूलक गतिविधिमा प्राधिकरण सधैं बीमा कम्पनीहरूसँग रहने उल्लेख गर्दै हिमालयन लाइफ इन्स्योरेन्सको यो प्रयास सफल होस् भन्ने शुभकामना ब्यक्त गरे ।













