नेपाल पुनर्बीमा वित्तीय सूचांकमा बलियोः ५४ करोड मुनाफा आर्जन, सात अर्बको व्यवसाय गर्न सफल

२० भाद्र २०८२, शुक्रबार ०८:३२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसमको अपरिष्कृत वित्तीय विवरण आज शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार खुद नाफा, खुद बीमा शुल्क आर्जन, दावी भुक्तानी लगायतका प्रमुख वित्तीय सूचांकहरु बृद्धि भएका छन् ।

कम्पनीको महाविपत्ती कोषको आकार ३७ करोड ८८ लाख र स्पेशल रिजर्भको आकार ४ अर्ब ६७ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको जगेडा कोषमा ७४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा नेपाल पुनर्बीमा कम्पनीले तेस्रो त्रैमाससम्ममा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन समेत बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ७ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.१३ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी पनि ६ अर्ब ५३ करोडबाट बढेर ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले समीक्षा अवधिमा पाँच अर्ब १७ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

साथै, समीक्षा अवधिमा कम्पनीको कुल खर्च पनि ३४.३५ प्रतिशतले बढेर ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च ५ अर्ब ७९ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी(ईपीएस)५.४५ रुपैयाँ ,प्रतिशेयर नेटवर्थ १४७.१५ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २५८.१२ रुपैयाँ रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले नियामक निकाय बीमा प्राधिकरणको नियमको बेवास्ता गर्दै बल्ल गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्न अझै बाँकी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*