नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पूर्व सचिव न्यौपानेसहित आधा दर्जनबढिको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि कम्तीमा एक जना पूर्व सचिवसहित दर्जन भन्दा बढि जना आकांक्षीहरुले आवेदन दिएका छन् ।
सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले यही भदौं १४ गते शनिबार ७ दिने सूचना जारी गरेपछि आज तीन बजे अन्तिम समय भएपनि अर्थमन्त्रालयमा भने अझै आवेदन लिन तयारी अवस्थामा कर्मचारीहरु बसिरहेका छन् । कार्यालय समय सकिएपछि पनि आवेदन कुरेर बसकोले आवेदन दर्ता प्रक्रिया रहस्यमय बन्न पुगेको छ ।
आवेदकहरु मध्ये सबैभन्दा पहिलो सूचिमा बिक्रान्त पाण्डेको नाम छ । उनी यसअघि पनि आवेदन दिएर छनौट हुन नसकेका व्यक्ति हुन् । त्यस्तै, अर्का आवेदक पूर्व सचिव महेश्वर न्यौपाने छन् ।
बीमा प्राधिकरणको अध्यक्ष पदमा यसअघि गत वर्ष आवेदन माग गर्दा १२ जनाको आवेदन परेको थियो । यस पटक पनि एक दर्जन आवेदन दर्ता भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
यद्यपि मन्त्रालयका कर्मचारीहरुले आवेदकको संख्या समेत भन्न अस्वीकार गरेर सेटिङ हान्न खोजिरहेका छन् । आवेदन दर्ता प्रक्रियाको सम्बन्धमा जिज्ञाशा राख्न अर्थ सचिव घनश्याम उपाध्याय सम्पर्क आएनन् ।














