मुरारका ग्रुपको पशुपति आइरनको अवस्था खस्किदै, चुक्ता पुँजीको २.३ गुणाबढी ऋण

२२ भाद्र २०८२, आईतवार ११:१७

काठमाडौँ । सन् १९८३ मा स्थापना भएको पशुपति आइरन एण्ड स्टील प्रालि आर्थिक संकट र ऋणको दलदलमा फसेको देखिएको छ । सुनसरीमा उत्पादन इकाई स्थापना गरेर संचालनमा आएको उद्योगले ‘पशुपति टीएमटी बार’ नामक उत्पादन बजारमा ल्याउँदै आएको छ । करिब १ लाख १० हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमता रहेको यस उद्योगले विगतमा राम्रो कारोबार गरे पनि पछिल्ला वर्षहरूमा यसको वित्तीय सूचकांकहरू लगातार कमजोर बन्दै गएको छ ।

२०८२ साल वैशाखसम्म कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ रहेको छ, जसलाई अशोक मुरार्का, प्रदीप मुरार्का, पशुपति मुरार्का र महेशकुमार मुरार्काले समान रूपमा लगानी गरेका छन् । तर लगानीकर्ताको पूँजी स्थिर रहे पनि बजार र ऋण संरचनाले कम्पनीलाई झन् दबाबमा पारिरहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९–०८० मा ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो । तर, २०८०–८१ मा भने कारोबार घटेर २ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो । चालु आर्थिक वर्ष ९ महिनासम्म (२०८१–८२) भने यसले जम्मा २ अर्ब ३६ करोड रुपैयाँको मात्रै कारोबार गर्न सकेको छ । यसले कम्पनीको बजार अवस्था लगातार कमजोर भइरहेको देखाएको हो ।

कम्पनीको सञ्चालन नाफा मार्जिन (अपरेटिङ नाफा अनुपात) समेत वर्षे वर्ष घटिरहेको छ । २०७८–७९ मा ७.२ प्रतिशत नाफा मार्जिन कायम गर्न सफल भएको कम्पनीको नाफा अनुपात २०७९–८० मा घटेर ४.७ प्रतिशतमा पुग्यो । २०८०–८१ मा झन् घटेर ३.३ प्रतिशतमा सीमित भएको छ । चालु वर्ष ९ महिनासम्म पनि यही ३.३ प्रतिशतकै हाराहारीमा छ ।

यता, ऋणको भार झन् गम्भीर छ । २०७८–७९ मा कम्पनीको कुल ऋण र मूर्त स्व–पूँजीबीचको अनुपात ०.५ गुणा मात्र थियो भने २०७९–८० मा यो बढेर ०.९ गुणा पुग्यो । २०८०–८१ मा १.१ गुणा पुगेको अनुपात हाल २०८१–८२ को ९ महिनामा २.३ गुणा पुगेको छ । कम्पनी पूँजीभन्दा दोब्बरभन्दा बढी ऋणमा निर्भर भएको छ ।

बाह्य दायित्व र स्व–पूँजीबीचको अनुपात पनि अत्यधिक जोखिमपूर्ण छ । २०७८–७९ मा १.३ गुणा रहेको यो अनुपात २०७९–८० मा २.५ गुणा पुगेको थियो । केही वर्ष स्थिर रहे पनि हाल यो फेरि बढेर २.७ गुणा पुगेको छ ।

ऋण सेवा क्षमता सूचकांक पनि खस्कँदो क्रममा छ । २०७८–७९ मा ११.७ गुणा ऋण तिर्न सक्ने क्षमता देखाएको कम्पनी हाल २०८०–८१ मा आएर १ गुणामात्र सीमित भएको छ । चालु आर्थिक वर्ष ९ महिनासम्म १.५ गुणामा पुगेको देखिए पनि यो दीर्घकालीन दृष्टिले स्थिर र सुरक्षित मानिने स्तरभन्दा निकै तल छ ।

कम्पनीको ऋण अनुपात र नाफा अनुपातबीचको अन्तरालले अझै गम्भीर अवस्था देखिएको छ । २०७८–७९ मा कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात २.३ गुणा मात्र थियो भने २०८०–८१ मा यो बढेर ९.५ गुणा पुगेको छ । हालको ९ महिनाको तथ्यांकअनुसार यो अनुपात १७.६ गुणा पुगेको छ, जसले कम्पनीले कमाएको नाफाले आफ्नो ऋण भुक्तानी गर्न असम्भवप्रायः स्थिति सिर्जना गरेको छ ।

साना अवधिका दायित्व पूरा गर्ने क्षमता जनाउने चालु अनुपात (करन्ट रेसियो) पनि कमजोर छ। २०७८–७९ मा ०.९ गुणा मात्र रहेको यो सूचकांक पछिल्ला वर्षहरूमा १.२ गुणाभन्दा माथि जान सकेको छैन । कार्यशील पूँजी र आम्दानीबीचको अनुपात हेर्दा पनि कम्पनी अस्थिर देखिन्छ। २०७८–७९ मा जम्मा २ प्रतिशत रहेको कार्यशील पूँजी–आम्दानी अनुपात २०७९–८० मा ऋणात्मक ७ प्रतिशतमा खसेको थियो। २०८०–८१ मा भने ३४ प्रतिशत पुग्दा स्थायित्वको संकेत गरेको जस्तो देखिए पनि चालु आर्थिक वर्ष ९ महिनासम्म यो अनुपात ६२ प्रतिशत पुगेको छ।

पशुपति आइरन एण्ड स्टील प्रालि अहिले ऋणको दलदलमा फसेको अवस्थामा छ । बजारको प्रतिस्पर्धा, बढ्दो उत्पादन लागत, घट्दो नाफा र बढ्दो ऋणभारले गर्दा कम्पनीले निकट भविष्यमा पनि स्थायित्व कायम गर्न सक्ने सम्भावना क्षीण देखिएको छ । लगानीकर्ताहरूले गरेका पूँजी योगदान स्थिर रहे पनि बजार र वित्तीय सूचकांकमा आएको गिरावटले कम्पनीलाई थप संकटमा धकेल्ने संकेत देखिएको हो ।

इक्रा नेपालले पशुपति आइरन एण्ड स्टिल प्रालिको छोटो अवधिको ऋण रेटिङ घटाएको छ । कम्पनीको छोटो अवधिको ऋण सीमा २४०० मिलियन रुपैयाँ नै कायम रहेपनि रेटिङ आईसीआरएएनपी ए ४ प्लस बाट घटाएर आईसीआरएएनपीे ए ४ मा पुर्‍याइएको हो ।

२०८२ साउन १२ गते गरिएको उक्त रेटिङ कार्यवाहीनुसार आईसीआरए नेपालले कम्पनीको वित्तीय जोखिम र कार्यसम्पादनलाई ध्यानमा राख्दै छोटो अवधिको ऋणको रेटिङ तल झारेको जनाएको छ । यसअघि कम्पनीलाई आईसीआरएएनपीे ए ४ प्लस प्रदान गरिएकोमा हाल उक्त स्तर कायम राख्न नसकेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*