ओमोडा जेकोका ईभी गाडीमा दशैं अफर: ७ लाखसम्म छुट, निःशुल्क चार्जर र बीमा सुविधा

२२ भाद्र २०८२, आईतवार १५:२८

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै ओमोडा एण्ड जेकेको विद्युतीय गाडीमा आकर्षक मूल्य छुटको घोषणा गरिएको छ । नेपालमा यी ब्रान्डको आधिकारिक वितरण अधिकार पाएको एसपीजी अटोमोबाइल्स प्रालिले सार्वजनिक गरेको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ योजना अन्तर्गत ग्राहकले सात लाख रुपैयाँसम्म लाभ लिन सक्नेछन्।

अफर अन्तर्गत जेको जे फाइभ, जेको जे सिक्स र ओमोडा ई फाइभ मोडेलमा छुट उपलब्ध हुनेछ। जेको जे फाइभ र जे सिक्स खरिद गर्ने ग्राहकले चार–चार लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। हाल बजार मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको जेको जे फाइभ यस अफरमा ५६ लाख ९९ हजार रुपैयाँमै किन्न सकिनेछ। त्यस्तै, ६९ लाख ९९ हजार रुपैयाँ पर्ने जेको जे सिक्सलाई कम्पनीले ६५ लाख ९९ हजार रुपैयाँमा सीमित अवधिका लागि उपलब्ध गराउने जनाएको छ।

ओमोडा ई फाइभमा भने सात लाख रुपैयाँसम्मको विशेष छुट दिइएको छ। अघिल्लो मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको यो मोडेल अफरमार्फत ५४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ। साथै, योजनामा सहभागी हुने ग्राहकले सवारी साधनसँगै निःशुल्क ७ किलोवाट वाल चार्जर, एक वर्षसम्मको बीमा सुविधा र पुरानो गाडी साट्दा एक्सचेञ्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ।

जेको जे फाइभको आकार ४३८० मिलिमिटर लम्बाइ, १८६० मिलिमिटर चौडाइ र १६५० मिलिमिटर उचाइमा रहेको छ। यसमा आकर्षक १८ इञ्च एलोय ह्वील, १५५ किलोवाट क्षमताको मोटर र ५८.९ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले पूर्ण चार्जपछि अधिकतम ४०२ किलोमिटरसम्म धाउन सक्ने दाबी कम्पनीले गरेको छ। यसमा १८५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स राखिएको छ।

ओमोडा ई फाइभ पूर्णतया विद्युतीय एसयूभी हो। यसमा ९९ किलोवाट मोटर पावर र ६१ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। एकपटकको चार्जमा ४३० किलोमिटर डब्लूएलटीपी रेन्ज दिने यसको ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर छ।

जेको जे सिक्सलाई हल्का अफ–रोड क्षमतासहित डिजाइन गरिएको छ। यसमा १३५ किलोवाट मोटर, ६५.६९ किलोवाट आवर ब्याट्री र २०० मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ। यसले अधिकतम ४०० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यो विशेष अफर निश्चित समयसम्म मात्र लागू हुनेछ र यसमा विभिन्न सर्तहरू रहनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*