एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटिज शेयर ट्रेडिङ पार्टनरको रूपमा जोडियो

२२ भाद्र २०८२, आईतवार १६:१६

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणमा नासा सेक्युरिटिज सेयर ट्रेडिङ पार्टनरको रूपमा जोडिएको छ । यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिजले प्रायोजन गर्ने समझदारी भएको हो ।

सहकार्यसम्बन्धी सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडैलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नासाले गरेको प्रायोजनको बदलामा मञ्चले नासालाई सेयर ट्रेडिङ पार्टनरको स्थान दिनेछ ।

यसपटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । तीमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् ।

खेलाडीलाई जनमतबाट विजेता बनाउने पिपल्स च्वाइस अवार्डका लागि मनोनयन भइसकेको छ । मनोनयनमा परेका खेलाडी उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । उनीहरूका लागि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ भने डिजिटल वालेट खल्ती र आईएमई एपमार्फत भोटिङ समेत भइरहेको छ ।

पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने मञ्चले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*