इन्टरनेटको भविष्य चीनमै: विश्वकै पहिलो सिक्स जी चिप सार्वजनिक, इन्टरनेट स्पीड ५ हजार गुणा तेज

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा चीनले नयाँ कीर्तिमान स्थापित गरेको छ। चिनियाँ अनुसन्धानकर्ताहरूले विश्वकै पहिलो सिक्सजी चिप विकास गरेर सार्वजनिक गरेका छन्।
बेइजिङस्थित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरू र हङ्कङको सिटी विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रूपमा यो प्रविधि तयार पारेका हुन्। उनीहरूले लिथियम नियोबेट नामक पदार्थको अति पातलो झिल्ली प्रयोग गरी चिप निर्माण गरेका छन्। नयाँ संरचनामा आधारित यो चिपले अहिलेको इन्टरनेट भन्दा करिब ५ हजार गुणा बढी स्पीड उपलब्ध गराउने क्षमता राख्छ भन्ने दाबी गरिएको छ।
यो प्रविधिबारे वैज्ञानिक अनुसन्धान प्रतिष्ठित जर्नल ‘नेचर’ मा प्रकाशित गरिएको छ। त्यहाँका विवरणअनुसार सिक्सजी चिप विभिन्न प्रकारका फ्रिक्वेन्सीमा सञ्चालन गर्न सकिन्छ। यसमा अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिको प्रयोग भएकाले मोबाइल डिभाइसमा प्राप्त हुने स्पीड, स्थिरता र क्षमतामा उल्लेख्य सुधार आउने देखिन्छ।
यो चिप आकारमा सानो छ। यसको लम्बाइ ११ मिलिमिटर र चौडाइ १.७ मिलिमिटर मात्र छ। यति सानो आकार भए पनि यसले न्यून फ्रिक्वेन्सीदेखि अत्यन्तै उच्च फ्रिक्वेन्सीसम्म समान रूपमा काम गर्न सक्छ। यसै कारणले स्मार्टफोनदेखि अन्य डिजिटल उपकरणसम्म उच्चगतिको इन्टरनेट र बलियो कनेक्टिभिटी उपलब्ध हुने विश्वास गरिएको छ।
विकसित प्रविधिबाट एक सेकेन्डमै करिब १०० जिबी डेटा आदानप्रदान गर्न सकिनेछ। यसको अर्थ ५० जिबी साइजको ८के एचडी भिडियो आधा सेकेन्डभित्रै डाउनलोड गर्न सकिने सम्भावना छ। यस्ता विशेषताले गर्दा इन्टरनेट अब केवल सहरी सीमामा मात्र सीमित नरही ग्रामीण क्षेत्रमा पनि समान स्तरको सुविधा पुर्याउने सम्भावना बढेको छ।
प्रविधि विज्ञहरूले चिपलाई मोबाइल वा स्मार्ट उपकरणको मस्तिष्कसँग तुलना गरेका छन्। यसले मेमोरी, ग्राफिक्स, स्टोरेज र अन्य हार्डवेयरबीच निरन्तर सञ्चार कायम राख्ने कार्य गर्दछ।
तर यस प्रविधिबारे केही चिन्ता पनि देखिएका छन्। केही विशेषज्ञहरूले यसरी तीव्र गतिमा सञ्चार हुँदा विद्युतचुम्बकीय विकिरण बढ्ने र यसले मानव स्वास्थ्यमा असर पुर्याउने खतरा रहेको बताएका छन्। साथै, इन्टरनेटको गतिसँगै साइबर आक्रमण र डेटा गोपनीयता सम्बन्धी चुनौती थपिन सक्ने कुरा पनि उठाइएको छ।













