समयमै सूचना पेश गर्ने सूचीकृत कम्पनीहरूलाई नेप्सेको आदेश, के छ जारी पत्रमा ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत सबै संस्थाहरूका लागि सूचना तथा जानकारी समयमै र तोकिएको माध्यममार्फत उपलब्ध गराउनुपर्ने आदेश जारी गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ र धितोपत्र सूचीकरण सम्झौतामा उल्लेखित शर्तअनुसार उक्त निर्देशन गरेको हो ।
सूचीकृत संस्थाहरूले लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन, प्रति शेयर आम्दानी, मूल्य-आय अनुपात, प्रति शेयर कुल सम्पत्ति मूल्य, तरलता अनुपात लगायतका विवरण नेप्सेले उपलब्ध गराएको नोट्स लगइन मार्फत तोकिएको समयमा पेश गर्नुपर्ने छ। आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र वार्षिक वित्तीय विवरण र त्रैमासिक वित्तीय विवरण सम्बन्धी रिपोर्ट त्रैमास समाप्त भएको ३० दिनभित्र बुझाउनु अनिवार्य छ।
धितोपत्रको दाखिल खारेज बन्द हुने मिति वा धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना प्राप्त भएमा नेप्सेलाई सो सूचना सात दिन अगाडि वा कारोवार सुरु हुनु भन्दा पहिले उपलब्ध गराउनुपर्ने व्यवस्था छ। नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर जारी हुने निर्णय भएमा कम्पनीले सो निर्णयको विवरण, अनुपात, शेयर कित्ता वा रकम सहित सञ्चालक समिति बैठकको समय समेत नेप्सेलाई उपलब्ध गराउनुपर्ने छ। साथै, उक्त जानकारी कम्पनीको वेभसाइटमा पनि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
सूचीकृत संस्थाहरूले आफ्नो व्यवसाय, वित्तीय अवस्था वा सञ्चालक समितिमा महत्वपूर्ण परिवर्तन भएमा पनि तुरुन्त नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ। १० करोड वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्री, दायित्व वहन, प्रमुख कार्यकारी अधिकृत, लेखा विभाग प्रमुख, लेखापरीक्षकमा परिवर्तन भएमा तुरुन्त सूचना उपलब्ध गराउनुपर्ने छ। अदालतमा सम्भावित मुद्दा दायर भएमा पनि यसको विवरण नेप्सेलाई तुरुन्त उपलब्ध गराउनुपर्ने छ।
सूचीकृत सामूहिक लगानी कोषका योजना व्यवस्थापकले योजनाको खुद सम्पत्ति मूल्य र लगानी अवस्थाको मासिक विवरण प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र नेप्सेमा पेश गर्नुपर्ने छ। संस्थाले गाभ्ने, विलय हुने, खरिद वा टुक्रिने निर्णय गरेमा, सो निर्णय भएको दिन वा कारोवार सुरु हुनु अघि नेप्सेलाई जानकारी दिनुपर्ने छ।
संगठित संस्थाले आफ्नो रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेमा तुरुन्त नेप्सेलाई जानकारी दिनुपर्ने छ। एउटै व्यक्ति वा संस्थाले ५ प्रतिशत वा सोभन्दा बढी शेयर लिएमा, नगदको सट्टा शेयर वितरण भएमा वा साधारण सभा तथा विशेष साधारण सभामा पेश गरिएका वार्षिक प्रतिवेदन, नाफा नोक्सान विवरण, छलफलका विषय सूची र सभामा भएको निर्णयको विवरण पनि नेप्सेलाई तुरुन्त उपलब्ध गराउनुपर्ने व्यवस्था छ। साधारण सभा समाप्त भएको एक महिनाभित्र ती विवरण सार्वजनिक गर्नुपर्ने नियम लागू हुनेछ।
यसैगरी, सूचीकृत संस्थाले वार्षिक शुल्क बुझाउनुपर्ने, प्राकृतिक विपद्, आकस्मिक घटना वा तालाबन्दी जस्ता कारणले दैनिक कामकारवाही प्रभावित भएमा यसको जानकारी नेप्सेलाई यथासंभव छिटो उपलब्ध गराउनुपर्ने व्यवस्था पनि विनियमावलीमा उल्लेख गरिएको छ। सूचना शेयरधनीलाई उपलब्ध गराउने जिम्मेवारी पनि संस्थाको हुनेछ,र आवश्यक परे पत्र पत्रिकामा सूचनाको प्रकाशन पनि अनिवार्य हुनेछ।
नेप्सेले यसै माध्यमबाट सूचीकृत संस्थाहरूलाई वित्तीय पारदर्शिता, शेयरधनी संरक्षण र बजारको विश्वसनीयता सुनिश्चित गर्न जारी गरिएका निर्देशहरू पालन गर्न ध्यान दिन आग्रह गरेको छ। नियम अनुसार अनिवार्य सूचना समयमै पेश नगरेका संस्थाहरूलाई नियामक कारवाहीको सामना गर्नुपर्ने स्पष्ट गरिएको छ।
Notice2082-5-22












