कछुवाको गतिमा कर्णाली सरकारको स्वास्थ्य बीमा कार्यक्रम, १६ लाख जनसंख्यामा हालसम्म ३२% मात्रै बीमा दायरामा

काठमाडौं । कर्णाली प्रदेश सरकारले अघि बढाएको स्वास्थ्य बीमा कार्यक्रम निकै सुस्त गतिमा चलिरहेको छ । स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याई स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त कार्यक्रम कछुवाको गतिमा अघि बढीरहेको छ ।
स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा कुल १६ लाख ८८ हजार चार १२ जनसंख्या रहेकोमा स्वास्थ्य बीमामा आवद्ध हुनेहरूको संख्या भने पाँच लाख ३९ हजार १ सय १२ मात्रै छ । यो तथ्यांकले प्रदेशको कुल जनसंख्याको ३२ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेको देखाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवार संख्या पनि कर्णालीमा न्यून छ । कुल तीन लाख ६६ हजार २ सय ५५ परिवार संख्या रहँदा स्वास्थ्य बीमा कार्यक्रममा भने एक लाख ४६ हजार ७४ परिवार मात्र आबद्ध रहेको पाइएको छ । यो कुल घरपरिवारको ४० प्रतिशत हो ।
साथै, स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएकाहरूको सक्रिय (नवीकरण गराउनेहरू) संख्यासमेत सन्तोषजनक छैन । गत आर्थिक वर्ष २०८१–०८२ सम्म आइपुग्दा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएकाहरूमध्ये दुई लाख ६२ हजार १ सय २० जना मात्रै सक्रिय बीमित छन् ।
यसमा कुल बीमित परिवारमध्ये सक्रिय परिवार संख्या ९० हजार ६ सय ८५ मात्र छ । कर्णालीमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थासमेत न्यून छन् । बीमा कार्यक्रम लागू भएयता हालसम्म स्वास्थ्य बीमाअन्तर्गत सेवा दिने सेवाप्रदायकहरूको संख्या जम्मा ३६ छ भने प्रथम सेवा दिने ३५ र माथिल्लो सेवा दिने स्वास्थ्य संस्थाको संख्या जम्मा एक छ ।
कर्णालीका ७९ पालिकामध्ये हालसम्म ३४ पालिकामा प्रथम सेवा बिन्दु विस्तार भएको छ भने ४५ पालिकामा यस्तो सेवा अझै विस्तार हुन नसकेको स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको तथ्यांकले देखाउँछ । गत पाँच वर्षको अवधिमा बीमितले सेवा लिएको दर पनि सन्तोषजनक छैन ।
स्वास्थ्य बीमा बोर्ड सुर्खेत प्रादेशिक कार्यालयको विवरण अनुसार २०७७–०७८ मा २९ प्रतिशत नागरिकले स्वास्थ्य बीमाबाट सेवा लिएका छन् । साथै, आर्थिक वर्ष २०७८–०७९ मा ३४ प्रतिशत, २०७९–०८० मा ३८ प्रतिशत, २०८०–०८१ मा ५४ प्रतिशत र गत आर्थिक वर्ष २०८१–०८२ मा ४६ प्रतिशत नागरिकले स्वास्थ्य बीमाबाट सेवा लिएको तथ्यांकमा देखिन्छ ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार स्वास्थ्य बीमामा सहभागी हुनेहरूको संख्या सुर्खेतमा धेरै छ भने, सबैभन्दा कम डोल्पा जिल्लामा छ । तथ्यांकअनुसार सुर्खेतमा एक लाख ३० हजार ७ सय १९ बीमित रहँदा डोल्पामा ५ हजार १ सय ७४ बीमित छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न स्वास्थ्य बीमाद्वारा पूर्वभुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरणका साथै स्वास्थ्य सेवाप्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धिमार्फत स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्न अघि सारिएको कार्यक्रम हो स्वास्थ्य बीमा । तर, यही कार्यक्रममा नागरिकको सहभागिता कम देखिनुले स्वास्थ्य बीमाको कार्यान्वयन र प्रभावकारिताप्रति नै गम्भीर प्रश्न उठाएको छ ।
औपचारिक क्षेत्र बीमामा आबद्ध हुन नसक्नु, यससम्बन्धी कानुन तथा कार्यविधि नबन्नु, सदस्य थपघटसम्बन्धी कार्यविधि नहुनुजस्ता कारणले स्वास्थ्य बीमाको दायरा विस्तार हुन नसकेको अवस्था छ ।











