निषेधित क्षेत्रतर्फ पुगे जेन-जी: युवाहरुको एउटै स्वर, ‘भ्रष्टाचारी देश छोड!’

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र देशभर फैलिएको भ्रष्टाचारविरुद्ध जेनजी नेतृत्वमा युवा प्रदर्शनकारी माइतीघरबाट बानेश्वरसम्म पुगेका छन्।
प्रदर्शनकारीहरू हातमा नारा लेखिएका प्लेकार्ड बोकेर बानेश्वरमा पुगेको समयमा प्रहरीले ब्यारिकेडको माध्यमबाट उनीहरूलाई रोक्दै सुरक्षा व्यवस्था कडा बनाएको छ।
‘जेन–जी’ युवाहरु केही नेता र मन्त्रीको फोटो भएको प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुको फोटो र विभिन्न प्रकारका नारा लेखिएका प्लेकार्ड देखाएर उनीहरुले प्रदर्शन गरेका छन् ।
भ्रष्टाचार र अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका युवाहरूले, जब डिजिटल माध्यममा आवाज दबाइयो, तब सडकमा प्रदर्शन गरेर आफ्नो आक्रोश देखाएका हुन्। उनीहरुले भ्रष्टाचारी देश छोड जस्ता नारा लगाउँदै आइरहेका छन् ।
सडकमा प्रदर्शनका कारण प्रमुख मार्गहरूमा सवारी साधनको आवागमन प्रभावित भएको छ। साथै, विभिन्न राजनीतिक दल, सामाजिक समूह र व्यक्तिहरूले प्रदर्शनकारीलाई समर्थन गर्दै उनीहरूको आन्दोलनलाई बल दिएको जनाइएको छ।













