जेनजी पुस्तामाथि राज्यको निर्मम दमन, बानेश्वरमा युवाको लाश ढल्यो कि शासन व्यवस्था ?

काठमाडौं । भ्रष्टाचार, कुशासन र बेथीतिमा डुबेको राज्यसत्ताका विरुद्धमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा पुस्तामाथि सरकारले आतातायी शैलीको निर्मम दमन गर्दै दर्जन बढि युवाहरुको हत्या गरेको छ । नयाँ बानेश्वरमा प्रहरी सुरक्षाकर्मीले गोली हानेर युवाहरुको हत्या गर्ने क्रम रोकिएको छैन । हालसम्म करिब १५० भन्दा बढि घाइते भएका छन् भने मृतकको संख्या यकिन गर्न सकिने अवस्था छैन ।
जेनजी पुस्तामाथि निर्मम दमन गरिरहेको नेपाल सरकार मन्त्रिपरिषदको आपतकालिन बैठक डाकिएको छ । सो बैठकको एजेण्डा बाहिर आइसकेको छैन ।
राजधानी काठमाडौंको नयाँ बानेश्वर केन्द्रीय जेनजीको अगुवाईमा भइरहेको आन्दोलनमा विद्यालय पोशाकमै रहेका थुप्रै युवाहरुको गोली हानी हत्या गरेको छ । प्रहरीको गोली लागेर करिब एक सय जति घाइते भएको आन्दोलनकारीहरुले बताएका छन् । सुरक्षा निकायले भने सो सम्बन्धमा केही बताएको छैन ।

युवापुस्ताले गरेको नयाँ बानेश्वरको आन्दोलन शान्तिपूर्ण भएपनि प्रहरी सुरक्षाकर्मीहरुले भने लुकेर, झुक्याएर युवाहरुको टाउको ताकेर गोली हानेर हत्या गरिरहेको छ । एक जना विद्यालय पोशाकमा रहेका र झोलामा पुस्तक बोकेका युवाको पंतिकारकै सामुन्ने ढले । उनको निधारबाट छिरेको गोली टाउकोको पछाडिको भाग भ्वाङ पारेर बाहिर निस्किएको थियो । घटनास्थलमा रगत ह्वालह्वाल बगिरहेको थियो भने करिब एक मिनेटभित्रैमा ति किशोर चल्मलाउन छाडेका थिए ।
अश्रुग्याँसको बर्षा, निशस्त्र युवाहरुमाथि राज्यले अत्याधुनिक एसएलआरमार्फत गोली प्रहार भइरहेको छ । संकटकाल तथा शाही शासनकालमा समेत नभएको दमन अहिलेको आधुनिक युगमा लोकतान्त्रिक सरकारले गरेको दमनले मानव अधिकारको गम्भिर उल्लंघन हुन पुगेको छ ।
राजधानीको नयाँ बानेश्वरमा भइरहेको आन्दोलनमा केही युवाहरुको लाश सडकमा ढलेको छ । तर, यो ढलेको युवाको लाश हो वा वर्तमान संघीय लोकतान्त्रिक गणतान्त्रि शासन व्यवस्था त्यो बुझ्न भने धेर्य गर्नुपर्नेछ ।

अनौपचारिक तथ्याङ्क अनुसार हालसम्म २० जना जतिको निधन भएको प्रदर्शनकारीहरुले जनाएका छन् । निधनको स्वतन्त्र पुष्टि भइसकेको छैन । ट्रमा सेन्टरमा चार जनाको लाश रहेको त्यहाँबाट प्रत्यक्षदर्शीले जनाएका छन् । सिभिल अस्पताल र एभरेष्ट अस्पतालमा समेत केही युवाहरुले शहादत प्राप्त भएको जनाइएको छ ।
राजधानीको नयाँ बानेश्वरमा भइरहेको आन्दोलनमा केही युवाहरुको लाश सडकमा ढलेको छ । रुपमा हेर्दा नयाँ बानेश्वरमा ढलेको लाश केवल लाश मात्रै नभएर वर्तमान शासन व्यवस्था प्रति जनताको विश्वास ढलेको रुपमा स्पष्ट रुपमा बुझ्न सकिन्छ । भर्खरैका कलिला युवाहरुमा सरकार र शासन व्यवस्थाप्रतिको विश्वास ढलिसकेकोले अब यसको आयुको दिनगन्ती सुरु भएको रुपमा समेत बुझ्नुपर्ने हुन्छ । यी ढलेहरु युवाको लाश हो वा वर्तमान संघीय लोकतान्त्रिक गणतान्त्रि शासन व्यवस्था, त्यो बुझ्न भने समयलाई प्रतिक्षा गर्नुपर्ने हुन्छ । तस्विरः नबराज न्यौपाने














