प्रहरीको गोली लागेर १९४ जना ‘जेन-जी’ घाइते

काठमाडौँ । भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रता खोस्ने सरकारी कदमविरुद्ध उत्रिएका जेनजीहरुले चलाएको आन्दोलनलाई दमन गर्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा १९४ जना भन्दा बढी घाइते भएका छन् । सो क्रममा १४ जनाले ज्यान गुमाएका छन् ।
विभिन्न अस्पतालमा उपचाररतमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । उपलब्ध विवरण अनुसार सिभिल अस्पतालमा मात्रै १०० भन्दा बढी घाइते पुगेका छन् भने २ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ४६ जना उपचाररत छन्, जसमा ६ जनाले ज्यान गुमाएका छन् र ४ को अवस्था गम्भीर छ । यस्तै, एशियन अस्पतालमा २४ घाइते भर्ना भएका छन्, जसमा १ जनाको मृत्यु भएको छ भने ३ गम्भीर छन् ।
केएमसी अस्पतालमा २१ जना घाइते छन्, जसमा २ जनाको मृत्यु भएको छ र ८ गम्भीर छन् । त्रिवि शिक्षण अस्पतालमा १५ जना उपचाररत छन्, १ को मृत्यु भएको छ भने १ गम्भीर छन् । पाटन अस्पतालमा ११ जना पुगेका छन्, जसमा ४ गम्भीर छन् ।
बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएसँगै कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, महाराजगन्ज, उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबार परिसर र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा समेत कर्फ्यु आदेश जारी गरिएको छ ।
तर, कर्फ्यु र सुरक्षाकर्मीको उच्च तैनाथीबीच पनि आन्दोलन रोकिएको छैन । सेनासमेत सडकमा परिचालन गरिएको भए पनि जेनजी आन्दोलनकारी निरन्तर सडकमा उपस्थित भइरहेका छन् ।













