आरबिबि फोकस ४० को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिने

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ। आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशनमा ल्याएको हो।
आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० मा न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। १२ वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।













