बानेश्वरमा प्रहरीले हान्यो अश्रुग्यास

२४ भाद्र २०८२, मंगलवार ११:३७

काठमाडौँ । संसद् भवन अगाडि जेन जी समूहको विरोध प्रदर्शन चर्किएपछि प्रहरीले बानेश्वर क्षेत्रमा अश्रुग्यास प्रहार गरेको छ। सोमबारको आन्दोलनका क्रममा १९ जना युवाको ज्यान गएपछि आज बिहानैदेखि राजधानीका विभिन्न स्थानबाट हजारौं युवाहरू बानेश्वरमा भेला भएका थिए। प्रहरीले आठ राउड अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै भ्रष्टाचार अन्त्य र राजीनामाको माग गरेका थिए। जेन जी समूहले आफ्नो आन्दोलनलाई शान्तिपूर्ण बनाउने घोषणा गरेको भए पनि ठूलो संख्यामा युवाहरू भेला भएपछि वातावरण तनावग्रस्त बनेको थियो।

सुरक्षा निकायले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्दा वरपरका क्षेत्रमा सर्वसाधारण पनि प्रभावित भएका छन्। सडकमा धुवाँ फैलिँदा यातायात अवरुद्ध भएको छ भने स्थानीय व्यवसायसमेत आंशिक रूपमा बन्द भएका छन्।

यसअघि काठमाडौं र ललितपुरका प्रशासन कार्यालयहरूले बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए। तर कर्फ्युका बाबजुद आन्दोलनकारी संसद् भवन अगाडि भेला भएपछि प्रहरीले बल प्रयोग गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*