कांग्रेस सभापति देउवाको निवासमा ‘जेन-जी’ को आगजनी
२४ भाद्र २०८२, मंगलवार १२:०७

काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य कांग्रेस नेताहरूका घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
आज बिहानै भीड मुख्य गेट फुटाएर देउवाको निवासमा प्रवेश गरेको र घरभित्र आगो लगाएको स्थानीयहरूले जनाएका छन्। आगोका कारण देउवाको घरबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ। देउवा यसबेला कहाँ छन् भन्ने स्पष्ट खुलेको छैन।
प्रदर्शनकारीहरूले देउवाको पत्नी आरजु राणा देउवाको धनगढीस्थित निवासमा पनि आगजनी गरेको बताइएको छ। त्यस्तै, काठमाडौंको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा पनि आगो लगाइएको छ।
आजको घटनाले काठमाडौं र धनगढी दुवै क्षेत्रमा तनाव बढाएको छ। सुरक्षा निकायले घटनास्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन्।













