जेनजी युवाहरूको आक्रोश: एमाले र कांग्रेस कार्यालयमा तोडफोड र आगजनी

२४ भाद्र २०८२, मंगलवार १२:४७

काठमाडौँ । सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि जेनजी युवाहरूको समूह मंगलबार देशभर राजनीतिक दलका कार्यालय र नेताहरूको निवासलाई निशाना बनाउँदै आक्रमक बनेको छ।

आज बिहान नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। उनीहरूले कार्यालयका भित्तामा लेखिएका नाराहरू र अन्य सामग्री तोडफोड गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन्। बल्खु क्षेत्रबाट अघि बढेको भीडले कार्यालयमा आगो लगाएको रातोपाटीकर्मीहरूले बताएका छन्। बल्खु क्षेत्रमा अहिले व्यापक आन्दोलन भइरहेको छ।

प्रदर्शनकारीहरूले पार्टी कार्यालय मात्र नभई शीर्ष नेताहरूका घरलाई पनि निशाना बनाउने रणनीति अपनाएको बताइएको छ। राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा बल परिचालन गरिए पनि आन्दोलनकारीहरूको भिड काबु गर्न कठिनाइ देखिएको छ।

सोमबारको दमनपछि आक्रोशित युवा सडकमा निरन्तर उत्रिएका छन् र उनीहरूको मुख्य माग भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*