सार्वजनिक सम्पत्ति नष्ट नगर्ने नेपाली सेनाको अपिल

२४ भाद्र २०८२, मंगलवार १७:५७

काठमाडौँ । देशभर जेन-जी आन्दोलन चर्किरहेका बेला नेपाली सेनाले संयमता अपनाउन अपिल गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाबाट मंगलबार जारी विज्ञप्तिमा हालसम्मको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण जनतामा संयमित बन्न अनुरोध गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको छ।’

नेपाली सेनाले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनलाई समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै, सेनाले हाल विकसित अवस्थाले राष्ट्रिय सम्पत्ति, ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई क्षति पुर्‍याउन नदिन आग्रह गर्दै भनेको छ, ‘देशको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले सम्पूर्ण युवा जनशक्ति र देशवासीलाई सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्दै संयमित रहन हार्दिक अनुरोध गर्दछ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*