बीमा प्राधिकरणद्वारा बीमा कम्पनीहरूलाई घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन निर्देशन

२५ भाद्र २०८२, बुधबार १३:२९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालभर रहेका बीमा कम्पनीहरु तथा तिनका शाखा र उपशाखा कार्यालयबाट सम्पादन हुँदै आइरहेका कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।’

प्राधिकरणले आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा निकायहरुको आदेश पूर्ण रुपमा पालना गर्न तथा कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*