सेना परिचालनपछि महाराजगञ्ज लुटपाटमा संलग्न ४ जना पक्राउ, ठूलो रकम र हतियार बरामद

काठमाडौं । देशव्यापी नेपाली सेना लगायत अन्य सुरक्षा निकायको सक्रिय परिचालनपछि महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न चारजना पक्राउ परेका छन्। नेपाली सेनाका अनुसार उनीहरूलाई भाद्र २५ गते विहान १० बजेबाट दिउँसो १ बजेसम्मको समयअवधिमा नियन्त्रणमा लिइएको हो।
सुरक्षा निकायले डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा केही व्यक्तिहरू भागे पनि सो क्रममा नेपाली रुपैयाँ २,३२,५०० र अमेरिकी डलर २५०० बरामद गरिएको छ। यसैसँगै सुरक्षाकर्मीहरूले लुटपाटमा प्रयोग भएका थप हतियारहरूमा १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद गरेको जानकारी दिइएको छ।
त्यसैगरी, डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका कैदीवन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ भने काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरूलाई पनि रोकिएको छ।
सुरक्षा निकायहरूले अहिले पनि देशभर अतिरिक्त निगरानी बढाएका छन् र शंकास्पद गतिविधि रोकथामका लागि निरन्तर प्रयास जारी राखेका छन्।













