सेनाले चलायो गोली, एक जनाको मृत्यु

२५ भाद्र २०८२, बुधबार १७:४७

काठमाडौं । जिल्ला कारागार धादिङमा कैदीबन्दीहरूले आगजनी गर्दै कारागार तोडेर भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान भएको घटनामा अन्दाजी ७५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ। अस्पतालका अनुसार दुई जना गम्भीर घाइते छन् भने पाँच जना सामान्य रूपमा घाइते भएका छन्।

प्रहरीका अनुसार आन्दोलनरत कैदीहरूले कारागार तोड्न खोजेपछि नियन्त्रणका लागि सुरक्षार्थ तैनाथ नेपाली सेनाले गोली चलाउन बाध्य भएको हो।

मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएपछि देशभर कैदीबन्दीहरू आन्दोलित बनेका छन्। ‘रविलाई छाडिएको छ, अब हामीलाई पनि छाड्नुपर्छ’ भन्ने मागसहित विभिन्न कारागारहरूमा आन्दोलन भड्किएको छ।

धादिङ कारागारका कैदीहरूले पनि बुधबार बिहानैदेखि जेल तोड्ने प्रयास गर्दै आन्दोलन गरेका थिए। उनीहरूले कारागारभित्र आगजनी गरे भने बाहिर पनि भिड जम्मा भई हुलदङ्गा सुरु भएको थियो।

कारागार परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूले कारागारको छतमा समेत मोर्चा सम्हालेर भिड नियन्त्रणमा लिन प्रयास गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*