प्रधानमन्त्रीको ढिलाइले स्थिति चर्किएको कांग्रेसको आरोप, संविधानसम्मत समाधान खोज्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्न ढिलाइ गर्दा मुलुकको अवस्था थप चर्किएको आरोप लगाएको छ। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ। हाम्रो पटक–पटकको आग्रहका बावजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आकलन गर्न नसक्नु र अरुले दिएको सुझावलाई समयमै ग्रहण नगर्नुले मानवीय क्षति भएको छ। त्यसबाट नेपाल र संसारभरका नेपाली स्तब्ध र दुखित भएका छन्।’
कांग्रेसले जेन–जी पुस्ताले उठाएका भावनालाई सम्बोधन गर्न आग्रह गर्दै, तर समाधान संविधानसम्मत बाटोबाट मात्र खोजिनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘विधिविहीनताले थप अराजकता निम्त्याउँछ। त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेन–जी पक्षलाई आग्रह छ— नयाँ राजनीतिक संरचना बनाउँदा संवैधानिक रिक्तता र शून्यता आउन नदिई हरसम्भव वैधानिक उपाय अपनाइयोस्। संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस्। त्यसमा हाम्रो समर्थन रहनेछ।’













