राजनीतिक स्थिरता नआएसम्म शेयर बजार बन्द नै राख्नु पर्ने लगानीकर्ताको माग, पुगे बोर्डको दैलोमा

२६ भाद्र २०८२, बिहीबार १८:१७

काठमाडौँ । नेपालका लगानीकर्ता संघ-संस्थाहरूले देशको राजनीतिक अस्थिरता, सुरक्षा चुनौती र हालै घटेका दुःखद घटनाका कारण मर्माहत बनेको जनाउँदै पूँजीबजारमा कारोबार तत्काल केही समयका लागि स्थगित गर्न नेपाल धितोपत्र बोर्डसँग आग्रह गरेका छन्।

विभिन्न लगानीकर्ता संगठनहरूले बिहिबार पठाएको संयुक्त पत्रमा उल्लेख छ, ‘धितोपत्र बजार अत्यन्तै संवेदनशील हुने र राष्ट्रिय परिस्थितिको सानोभन्दा सानो सकारात्मक वा नकारात्मक प्रभावले समेत यसमा ठूलो उतारचढाव ल्याउने गर्दछ। यस्तो त्रास र अनिश्चितताको वातावरणमा लगानीकर्ताहरुले विवेकपूर्ण र सही निर्णय लिन असम्भवप्रायः हुन्छ, जसले गर्दा बजारमा अनावश्यक बिक्री चाप (Panic Selling) सिर्जना भई समग्र पूँजीबजार नै धराशायी सक्ने जोखिम बढेको छ । यसले विशेषगरी साना र नयाँ लगानीकर्ताहरुलाई अपूरणीय क्षति पुऱ्याउन सक्छ । तसर्थ, पूँजीबजारको स्थायित्व र लाखौं लगानीकर्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै, हाललाई केही समयका लागि कारोबार स्थगित गर्नु नै एक मात्र विवेकपूर्ण विकल्प देखिन्छ । देशमा शान्तिसुरक्षाको प्रत्याभूति भई अन्य आर्थिक गतिविधिका सम्पूर्ण अवयवहरु व्यवस्थित र सहज हुने परिस्थिति निर्माण भएपछि मात्र बोर्डले उचित समयमा बजार पुनः सञ्चालन गर्ने व्यवस्था मिलाओस् भन्ने हाम्रो माग छ । यस अवस्थामा यसअघि लगानीकर्ताहरूले उठाएका मागहरू पूरा गर्ने सम्बन्धमा धितोपत्र बोर्डले द्रुत गतिमा काम अगाडि बढाउनको लागि समेत जोडदार माग गर्दछौं। ‘

पत्रमा गम्भीर परिस्थितिलाई मनन गरी धितोपत्र बोर्डको समन्वयमा नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ता, सिडिएससी तथा अन्य सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र छलफल गरी राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरिदिनुहुन लगानीकर्ताका विभिन्न संघ-संगठनहरुको तर्फबाट अनुरोध गरेको छ ।

यस संयुक्त अनुरोधमा जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष तथा महासचिवहरूले हस्ताक्षर गरेका छन्। पत्रको प्रतिलिपि अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी र स्टक ब्रोकर एसोसिएसन अफ नेपालमा पनि पठाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*