जेन-जीको बलिदानलाई धोका नदिनुहोस्, सेनाले अन्तरिम सरकार घोषणा गरोस्: दुर्गा प्रसाईं

२७ भाद्र २०८२, शुक्रबार १२:३२

काठमाडौँ । सामाजिक अभियन्ता दुर्गा प्रसाईंले फेसबुकमार्फत राष्ट्रपतिसहित संविधानलाई निलम्बन गरी सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गरेका छन्। उनले हालको संविधान, संसद, राष्ट्रपति र सम्पूर्ण व्यवस्थाप्रति प्रश्न उठाउँदै जेन–जीको बलिदानलाई धोका दिन नहुने बताएका छन्।

उनले विगतमा आन्दोलनमार्फत हजारौँ बालबालिकाको हत्या, ५० खर्बभन्दा बढीको राज्य सम्पत्तिको नाश र परिवारका आँसु र रगतको हिसाब अहिलेसम्म नभएको दाबी गरेका छन्। पश्चिमी शक्तिको डिजायनमा नयाँ संविधान जारी भई हिन्दु राष्ट्रको अन्त्य गरी मुलुक धर्मनिरपेक्ष बनाइएकाले अहिले पनि राज्य लुटिने क्रम रोकिएको छैन भन्ने उनको भनाइ छ।

प्रसाईंले पृथ्वीनारायण शाह र नेपाली सेनाले देशलाई एकीकरण गरेको इतिहास स्मरण गर्दै अहिले पुनः मुलुक जोगाउने जिम्मेवारी सेनाकै काँधमा आएको तर्क गरेका छन्। उनले राष्ट्रपतिको पद र संविधानलाई तत्काल निलम्बन गरेर अन्तरिम सरकार घोषणा गर्नुपर्ने जोड दिँदै अन्यथा पुर्खाको बलिदान, अबोध बालबालिकाको रगत र परिवारको आँसु देशलाई निरन्तर पोल्ने चेतावनी दिएका छन्।

उनको भनाइमा संसारका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिई नयाँ संविधानमार्फत नयाँ व्यवस्था जन्माएका छन्। समयमै सही कदम चालिएन भने आगामी पुस्ताले सराप्ने र अन्ततः देशमै बस्न नसक्ने अवस्था आउने चेतावनीसमेत उनले दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*