सुदूरपश्चिमका २७३ फरार कैदीबन्दी पक्राउ
२७ भाद्र २०८२, शुक्रबार १४:०४

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका दुई सय बढी कैदीबन्दी पक्राउ परेका छन् । नेपाली सेना तथा प्रशासनहरुले फरार कैदीबन्दीहरुलाई सम्पर्क आउनका साथै जेनजी आन्दोलनमा चोरी भएका सामान तथा हातहतियार फिर्ता गर्न आग्रह गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले शुक्रबार बिहानसम्म कारागारबाट भागेका २ सय ७३ कैदीबन्दीलाई पक्राउ गरिएको बताए ।
उनीहरू मध्ये कतिपय आफैं सम्पर्कमा आएका थिए भने धेरैजसोलाई प्रहरीले पक्राउ गरेको थियो । एसएसपी रानाभाटकाअनुसार पक्राउ परेका समेत गरेर अहिलेसम्म सुदूरपश्चिमका ९ जिल्ला कारागारमा पाँच सय ५७ जना कैदीबन्दी रहेका छन् ।













