नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्हालिन् पदभार
२९ भाद्र २०८२, आईतवार ११:३१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन् । उनले गृह मन्त्रालयको नयाँ भवनमा कार्यभार सम्हाल्दै आफ्नो औपचारिक कार्यकाल सुरु गरेकी हुन् ।
प्रधानमन्त्री कार्यालय रहेको पुरानो भवनमा जेन–जी आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्याएपछि त्यहाँबाट कार्यसम्पादन गर्न कठिनाइ भएको थियो । यही कारण नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष तयार गरिएको हो ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई गत शुक्रबार नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । सोही दिन उनले कार्यभार सम्हाल्ने तयारी गरेकी थिइन् । तर, शपथग्रहण राति अबेर सम्पन्न भएकाले पदभार ग्रहण प्रक्रिया रोकिएको थियो ।
यससँगै देशले पहिलोपटक अन्तरिम सरकारको नेतृत्व एक महिला व्यक्तिले गर्ने अवसर पाएको छ ।













