महालक्ष्मी विकास बैंकद्वारा क्षति प्रभावित सेवाबारे जानकारी, लेकसाइड शाखा पूर्ण रूपमा बन्द

काठमाडौँ । महालक्ष्मी विकास बैंकले हालसालै घटेका विभिन्न दुःखद घटनाप्रति गहिरो दुःख प्रकट गर्दै प्रभावित परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। बैंकले दिवंगत आत्माको चिर शान्ति तथा शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेको छ। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ।
बैंकले सरकारी, सार्वजानिक तथा निजी सम्पत्तिमा पुगेको क्षति प्रति गहिरो चिन्ता व्यक्त गर्दै देशमा असामान्य अवस्था शीघ्र सामान्य हुने अपेक्षा व्यक्त गरेको छ। बैंकले सुरु भइसकेको सरकार गठन प्रक्रिया चाँडै टुंगिएर शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षा प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास लिएको जनाएको छ।
यसैबीच, बैंकको लेकसाइड पोखरा शाखा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। उक्त शाखाबाट प्रदान हुने सेवाहरू नजिकैका शाखाहरू मार्फत लिन सकिने बैंकले जानकारी गराएको छ। बैंकका अन्य १०२ शाखा कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन् भने सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रूपमा उपलब्ध रहेको पनि बैंकले जनाएको छ।













