मौलाकाली केबलकारमा आगजनी र तोडफोडपछि ठूलो क्षति, पुनः उठ्ने दृढ अठोट

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मौलाकाली केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको छ। गैँडाकोट र नवलपुरको पहिचानका रूपमा चिनिने, देवघाटको शिरमा अवस्थित मौलाकाली केबलकार गण्डकी क्षेत्रको साझा गौरव मात्र नभई नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको परियोजना हो। यसलाई राष्ट्रिय सम्पत्तिको प्रतीकका रूपमा समेत लिइने गरिएको छ।
केबलकारमा ठूलो क्षति पुगे पनि पुनः उठ्ने दृढ अठोट गरिएको छ। मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति नभई हजारौँ स्थानीय सेयरधनीहरूको संयुक्त लगानी र मेहनतबाट बनेको परियोजना भएको केबलकार कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। देशको पर्यटन प्रबर्द्धनसँगै राजस्व वृद्धिमा टेवा पुर्याउने, स्थानीय रोजगारी सिर्जना गर्ने र उत्पादनको बजार विकासमा पनि योगदान पुर्याउँदै आएको दाबी कम्पनीले गरेको छ।
तोडफोड र आगजनी नियन्त्रणका क्रममा सक्रिय भूमिका खेलेका सुरक्षाकर्मी, स्थानीयवासी तथा कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ। यति ठूलो क्षति भए पनि सपना र अठोट भने नटुटेको भन्दै कम्पनीले छिट्टै सेवा पुनःसञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।
अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको मौलाकाली केबलकार लिमिटेडले यस संकल्पलाई अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने विश्वास लिएको छ।













