आन्दोलनले उद्योग र रोजगारीमा असर: नाडाले सरकारलाई सुरक्षामा तुरुन्त कदम चाल्न आग्रह

२९ भाद्र २०८२, आईतवार १७:५३

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले हालै देशव्यापी रुपमा भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो असर पारेको भन्दै यसबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । नाडाले जीवन गुमाउनुपरेको पीडादायी घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको लागि पनि प्रार्थना गरेको छ ।

नाडाले अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएकाले हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको बताएको छ । विज्ञप्तिमा कर्मचारी, ग्राहक तथा सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता बढेको उल्लेख गर्दै उपभोक्ता विश्वासमा नकारात्मक असर परेको र दीर्घकालीन रुपमा लगानी तथा रोजगारीमा चुनौती थपिएको जनाएको छ ।

नाडाले जटिल समस्याहरूको समाधान शान्तिपूर्ण संवाद र सहमतिमार्फत मात्र सम्भव हुने विश्वास व्यक्त गर्दै सरकारलाई व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । साथै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न समेत सरकारलाई आह्वान गरिएको छ ।

एशोसिएसनले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता जनाएको छ । एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास समेत व्यक्त गरिएको छ ।

यस्तै, नेपालले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको प्रसंगलाई समेत एशोसिएसनले विशेष महत्व दिएको छ । एशोसिएसनले छिट्टै मन्त्रिपरिषद गठन हुने र आगामी छ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी लिएको सरकारले आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गरी सफलतापूर्वक अघि बढोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*