बैंकिङ प्रणाली ठिकठाक छ, मनोबल बढाएर ब्यवसाय गरौं: गभर्नर पौडेल

३० भाद्र २०८२, सोमबार १५:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन-जी आन्दोलनका क्रममा केही बैंक शाखा कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएका छन्। सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रमपछि बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार, ‘६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण भएको थियो। तर आन्दोलनकारीहरूले बैंक नै लक्षित गरेको जस्तो देखिँदैन। ६९ वटा एटिएममा केही असर परेको छ। त्यसबाहेक बैंकिङ प्रणालीका सबै सिस्टमहरू ठिक छन्।’

गभर्नर पौडेलले बैंककर्मीहरूको मनोबल बढाउने आवश्यकता रहेको भन्दै भने, ‘अहिले सबैको मनोबल घटेको छ। यसअघि पनि हामीलाई मनोबल कायम राख्न चुनौती थियो। अहिले जे घटना भयो त्यसले समस्या थपेको छ, तर समाधानका लागि हामी तयारीमा छौं।’

उनले अर्थमन्त्री रामेश्वर खनालको अनुभव र नेतृत्वमा बैंक तथा वित्तीय प्रणालीलाई अझ सहज र प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे। ‘अर्थमन्त्री अनुभवि व्यक्तित्व भएका छन्। राष्ट्र बैंक र अर्थ मन्त्रालयको सहकार्यले बैंकिङ प्रणालीलाई थप मजबुत बनाउनेछ। व्यवसायीहरूले भोगिरहेको समस्या समाधान गर्न हातेमालो गर्नुपर्ने छ। अबको समय हाम्रो लागि राम्रो अवसर हो र यसलाई सही ढंगले प्रयोग गर्नु आवश्यक छ’ गभर्नर पौडेलले भने ।

उनले बैंकिङ क्षेत्रका सबै चुनौतीहरू अझै कायम रहेको भए पनि समाधानका उपायमा फोकस गर्नुपर्ने आवश्यकता औँल्याए र बैंककर्मी, व्यवसायी र सरकारबीच सहकार्यले राष्ट्र निर्माणमा योगदान पुग्ने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*