राजनीतिक दबाबका टुक्रे आयोजना काटे करिब एक खर्ब जुट्न सकिने: अर्थमन्त्री खनाल

३० भाद्र २०८२, सोमबार १५:५०

काठमाडौं । अर्थमन्त्रीका रुपमा सोमबार पदभार ग्रहण गरेका डा. रामेश्वर खनालले राजनीतिक दबाबका कारण बजेटमा समेटिएका अनावश्यक र टुक्राटाक्रीका आयोजना कटौती गर्न सकिए करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सकिने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले आगामी निर्वाचन र पुनर्निर्माणका कामलाई सहज बनाउन बजेटमा भएका कार्यक्रमको छानबिन गरेर प्राथमिकतामा आधारित व्यवस्था मिलाइने बताए ।

बजेट संशोधनका लागि उनले आजै बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन् । उक्त कार्यदलले योजनाहरू छानबिन गरी आवश्यक कार्यक्रम मात्रै राख्ने र बाँकी कटौती गर्ने जिम्मेवारी पाउनेछ ।

सिंहदरबारमा हालै भएको जनआन्दोलनका कारण भएको क्षतिबारे स्मरण गर्दै मन्त्री खनालले भग्नावशेष तत्काल हटाई भित्तामा रंगरोगन गर्ने कार्य सुरु गरिने जानकारी दिए । उनका अनुसार, ‘विनासपछि पनि अर्थ मन्त्रालयबाटै पुनर्निर्माणको सन्देश दिन जरुरी छ । नयाँ सवारी खरिद नगरी पुराना कवाडी बिक्री गर्ने, सार्वजनिक सम्पत्तिको विमा प्रबन्ध गर्ने र तत्काल पुनःनिर्माण अगाडि बढाउनुपर्ने आवश्यकता छ ।’

युवाले देशको हितका लागि ज्यानसमेत आहुति दिएको प्रसंग जोड्दै उनले सरकारलाई दिएको विश्वासलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिवद्धता जनाए । ‘अब गल्ती गर्ने कुनै ठाउँ रहँदैन । स्रोतको दुरुपयोग नगर्नुहोस्, सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्नुहोस्’ भन्दै उनले कर्मचारीलाई सचेत गराए ।

निजी क्षेत्रमाथि विगतमा आक्रमण भएको प्रसंग स्मरण गर्दै उनले अब निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार राजस्व संकलनका लागि दबाब दिनेभन्दा सेवा प्रवाहमा सुधार गर्ने खालको वातावरण बनाउन सके स्वाभाविक रूपमा आम्दानी बढ्नेछ ।

त्यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सिफारिसलाई कार्यान्वयन गरिने बताउँदै उनले सार्वजनिक खर्च व्यवस्थापनमा विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*